प्यूठानको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

बुटवल, साउन १५ गते। शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनास्थलमा एकजना महिला, उपचारको क्रममा अस्पतालमा दुई जनाको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते रुपन्देही सिद्धार्थनगर नगरपालिका –४ की ५४ वर्षीय कान्ति कर्ण र मायांदेवी गाउंपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवनसिटी अस्पताल बुटवलमा उपचारको क्रममामृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी गराएका छन् । यस्तै, ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमै मृत्यु भएको थियो । घाइते हुनेहरूमा रुपन्देही मायादेवी – ७ का ४२ वर्षीय विनोद कुहार, सिद्धार्थनगर नगरपालिका – ४ का ४० वर्षीय उर्मीला कुहार,१५ वर्षीय चन्दन कुहार, मायांदेवी – ३ का ४० वर्षीय आशा थारु, ३ का ६३ वर्षीय रुदल चौधरी,५० वर्षीय मागरी थारु,६१ वर्षीय प्रल्हाद थारु, सिद्धार्थ – ६ का ७० वर्षीय धुव्रा नारायण कावी, सिद्धार्थनगर नगर पालिका– ६ का ६० वर्षीय उर्मिला बर्मा, मायादेवी – ३ का ५५ वर्षीय किसदी थारु, सिद्धार्थनगर नगरपालिका –६ का ६० वर्षीय पुष्पा माली, ५२ वर्षीय सरोज माली, मायादेवी – ७ का अन्दाजी ७३ वर्षीय कल्वारी कुहार, ७५ वर्षीय प्राग कुहार, ६ वर्षीय बालिका संगीता कुहार रहेको प्रहरीले बताएको छ । घाइतेहरुको बुटवल र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ । सिद्धार्थनगर नगरपालिका र मायांदेवी गाउंपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्व गरी १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए। स्वर्गद्वारीबाट भिङग्रीतर्फ झर्दै गरेको लु ३ च ३५३ नम्वरको जीप शनिबार दिउंसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो। ब्रेक फेल भएपछि जीप दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।