पैसा तिर्न नसकेपछि साथीको हत्या

बुटवल, साउन १६ गते। रुपन्देहीको सैनामैनाका कुलचन्द्र गौतमले आफ्नै साथी विष्णुबहादुर पाण्डेको हत्या गरेको रहस्य खुलेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै साथीको हत्यामा सम्लग्न भएको आरोपमा रुपन्देही सैनामैनाका कुलचन्द्र गौतमलाई नियन्त्रणमा लिएको छ। सैनामैना ६ कलौनी बस्ने गौतमले बुटवलको बेलवासमा बस्ने बिष्णुबहादुर पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले कुलचन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो । यही साउन १० गतेदेखि हराएका पाण्डेलाई गौतमले नै अर्घाखांचीको डाडा कटेरी भन्ने ठाउंमा लगेर हत्या गरी भिरबाट खसालेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। अर्घाखाचीको मालारानी गाउंपालिका–२ घर भई बुटवल बेलबासमा बस्दै आएका पाण्डेसंग गौतमले १६ लाखमा किनेको ट्रकको पैसा तिर्न नसकेपछि कालीज मार्न जाने बहाना बनाएर जंगलमा लगेर हत्या गरेको रहस्य खुलेको प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताए।प्रहरीका अनुसार गौतमले घर बनाउदा र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको रकम तिर्न नसकेपछि हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ट्रक गौतमले पछि रकम तिर्ने शर्तमा किनेका थिए। उक्त रकम अर्घाखांची गएर दिन्छु भन्दै साउन ९ गते पाण्डेलाई फकाएर अर्घाखांचीको पाणिनी पु¥याएका थिए। योजनावद्ध रुपमा हत्याको योजना बनाएका गौतमले साउन १० गते कालिज मार्न जाउ भन्दै पाणिनी गाउँपालिका–२ डांडाकटेरीस्थित सिद्ध सामुदायिक वनको जंगलमा पु¥याएर पछाडीबाट रडले प्रहार गरी हत्यागरी भिरबाट खसाली दिएको प्रहरीको भनाई छ। विष्णुबहादुर पाण्डे सम्पर्कमा नआएपछि पाण्डेकी छोरी शीला पाण्डेले साउन ११ गते इलाका प्रहरी कार्यालय बुटवलमा खोजी दिन भन्दै निवेदन दिएकी थिइन् । त्यपछि जिल्ला प्रहरी कार्यालय अर्घाखांचीबाट खटिएको टोलीले खोजतलास गर्दा साउन १४ गते पाणिनी–२ डांडाकटेरीस्थित सामुदायिक वनमा पाण्डेलाई मृत अवस्थामा फेला परेको थियो ।पाण्डे मृत भेटिएपछि प्रहरलिे अहिले थप अनुसन्धान भैरहेको बताएको छ ।