उम्मेदवार पत्रकारको सदस्यता खारेज गर्न प्रेस चौतारीको माग

बुटवल, पुस २५ गते । प्रेस चौतारी नेपाल रुपन्देहीले निर्वाचनमा उम्मेदवार बनेका तथा राजनीतिक दलका प्रतिनिधि रहेका पत्रकार महासंघका सदस्यहरुको सदस्यता खारेज गर्न माग गरेको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले,नेपाल पत्रकार महासंघ रुपन्देहीलाई निर्वाचनमा उम्मेदवारी दिएका जिल्लाका पत्रकारहरुको सदस्यता खारेजीका लागि आग्रह गरेको छ । महासंघले यसअघि नै कुनैपनि दलको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेका सदस्यहरुको स्वतः सदस्यता खारेज हुने बताएको थियो ।
महासंघको उक्त निर्णय तत्काल कार्यान्वयनका पे्रस चौतारी रुपन्देहीले महासंघलाई ध्यानाकर्षण गराएको छ ।
सोमबार प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको नेतृत्वमा गएको चौतारीको टोलीले निर्वाचनमा उम्मेदवार बनेका सबै पत्रकारहरुको सदस्यता खारेज गर्नुपर्ने माग गरेको छ ।
महासंघका अध्यक्ष रामराज पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउंदै प्रेस चौतारी रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलले विधानमा रहेको व्यवस्था कडाइका साथ पालना गर्न गराउन तथा उम्मेदवारी दिएका वा दलका कुनै पनि विभाग वा कमिटीमा रहेका पत्रकारहरुको छानविन गरी सदस्यता अविलम्व खारेज गर्नुपर्ने बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै महासंघका अध्यक्ष रामराज पोखरेलले पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था भएकाले यसका सदस्यहरुले पनि पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने कुरामा आफुहरु प्रतिबद्ध जनाएका छन् ।
अध्यक्ष पोखरेलले राजनितिक दलका कार्यकारी पद वा निर्वाचनमा उम्मेदवार बनेकाहरु स्वयंले सदस्यता नविकरण नगरी नैतिकता प्रस्तुत गर्न आग्रह गरेका छन् ।
अध्यक्ष पोखरेलले त्यस्ता सदस्यहरुको सदस्यता नविकरण नगर्नेमा महासंघ प्रतिबद्ध रहेको बताए ।