पत्रकार महासंघको नेतृत्व श्रमजीविको पक्षमा बोल्न सकेन – पत्रकारहरु

बुटवल, पुस २६ गते । समय सापेक्ष श्रमजीवि पत्रकारहरुको तलवृद्व गर्न पत्रकारहरुले माग गरेका छन् ।न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम तलवसमेत नपाईएको गुनासो गर्दै श्रमजीवि पत्रकारहरुको श्रमको सम्मान हुन नसकेको पत्रकारहरुले बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र पत्रकार महासंघ रुपन्देहीको संयोजनमा मंगलबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्ने सहभागी पत्रकारहरुले समयको माग अनुसार तलव बढाउनुको विकल्प नभएको बताए ।श्रमजीवि पत्रकार ऐन व्यबहारमा कार्यान्वयन नभएकाले ऐन कार्यान्वयन गरी पत्रकारहरुलाई काम अनुसारका दामदिन मिडियाहाउसहरुलाई आग्रह गरे ।
रुपन्देहीका अधिकांश मिडियाहाउसहरुले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगरेको उनीहरुले बताए ।श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गरी न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको नूनतम तलव उपलब्ध गराउने विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न पत्रकार महासंघलाई आग्रह गरे ।

पत्रकार महासंघको नेतृत्व श्रमजीवि पत्रकारहरुको पक्षमा बोल्न नसकेको आरोप लगाउंदै महासंघकै नेतृत्वको कमजोरीका कारण पत्रकारहरुले समय सापेक्ष अनुसार तलव पाउन नसकेको पत्रकारहरुको दावी छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब कुन–कुन मिडियाहाउसहरुले दिएका छन्, दिएका छैनन् भन्ने विषयमा अनुगमनका लागि अनुगमन समिति गठन गर्न सुझाव दिएका छन् ।
सोही कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुनु दुखद् पक्ष हो भनिन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको तलवसहित सेवासुविधा उपलब्ध गराउन उनले आग्रह गरिन् ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्ने प्रतिवद्वता जनाउंदै न्यूनतम तलव उपलब्ध गराउन आग्रह गरे ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु भण्डारी, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, यानेन्द्र जीसी,पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार दिनेश पाण्डे, इन्द्रिरा अर्याल, पत्रकारहरु श्यामलाल पोखरेल, भगवती पाण्डे, लक्ष्मण पौडेल, रेखा भुसाल, रुद्रहरि कुंवर, कल्प्ना तिवारी, निरु गौतम, सिपी खनाल, डिबी सुस्लिङ, दिवाकर पन्थी लगायतले बोलेका थिए ।
महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सन्जय विश्वकर्माको सञ्चालन र विश्वास ढकालको स्वागतमा कार्यक्रम भएको हो ।