रुपन्देहीको तिलोत्तमामा सरसफाई अभियाना जारी

बुटवल, फागुन २६ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाई अभियान जारी छ ।
सरसफाई अभियानलाई प्राथमिकता दिंदै आएको तिलोत्तमाले टोलटोलमा सरिसफाई अभियान चलाई रहेको छ ।
नगरपालिकाले जनप्रतिनिधिहरुको सहभागितामा विभिन्न वडामा शुक्रबार सरसफाई गरियो ।
वडा कार्यालयहरुको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सरसफाई गरेका हुन् । वडा नम्बर ८ का सबै टोलहरुमा पनि सरसफाई गरिएको हो ।
नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।
चार नम्बर चोकबाट सुरु भएको बुद्ध सर्किट सरसफाईमा सहभागी नगर प्रमुख रामकृष्ण खांणले नगरबासीले सरसफाईलाई आफ्नो जीवन पद्धतिको रुपमा अघि बढाउंदा अभियान दीगो हुने बताउंदै सरसफाई अभियानमा सहभागी हुन नगरबासीलाई आह्वान गरेका छन् ।

उपप्रमुख जागेश्वरी चौधरीले सरसफाई अभियान तिलोत्तमा वासीको पहिचान बनेको उल्लेख गर्दै सप्ताहव्यापी कार्यक्रमका साथैं नियमित सरसफाई अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताइन ।
करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले सरसफाई तिलोत्तमाको पहिचान बनेको बताउँदै यसलाई दीगो बनाउने तर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाई अभियान सुरु भएको थियो ।
आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुंदै आएको छ ।