संविधान बन्न नदिने षडयन्त्र नेम्वाङले रोक्नुभयो – एमाले उपाध्यक्ष

बुटवल, असोज २ गते । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान बन्न नदिने षडयन्त्रलाई तत्कालिन संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङले रोकेको बताएका छन् ।

संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्दको संविधान रोक्ने षडयन्त्र सुवाशचन्द्र नेम्वाङले रोकेपछि मुलुकले नयां संविधान पाएको दावी गरे ।
नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणमा नेम्वाङले नेतृत्वदायी भूमिका खेलेको बताउ । नेकपा एमाले लुम्बिनी प्रदेश र रूपन्देहीले आयोजना गरेको कार्यक्रममा बोलदै उपाध्यक्ष ज्ञवालीले संविधान सभाको चुनाव कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा नेम्वाङबाट राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएको दावी गरे ।

नेता ज्ञवालीले नेम्वाङको निधनले आज सिंगै देश एकजना ब्यक्तिको अभावमा शोकमग्न भएको बताउंदै उनले भने – एमालेको मात्र नेता नभएर सबैको साझा नेता हुनुहुन्थ्यो ।
एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले भारतीय दवाव, युरोपियन युनियनको चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसंग समन्वय गरेर सुवास नेम्वाङले संविधान गर्नुभएको बताइन । नेतृ अर्यालले नेपालमा अस्थिरता सृजना गरेर स्वार्थ लिन खोज्नेहरू रहेको र युरोपियनको चलखेलको स्वार्थ रहेको भन्दै भारतका विदेश सचिवको दौडधुप लगायतका गतिविधिलाई निस्तेज बनाएर संविधान जारी गर्नु सामान्य विषय नरहेको तर्क गरिन् ।

 

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिकुल्ला खांले शालीन, अविचलित, धैर्यताका साथ काम गर्नसक्ने व्यक्तिको निधनले देशलाई अपूरणीय क्षति भएको बताउंदै सुवाशचन्द्र नेम्वाङको अभाव मुलुकलाई खड्किरहने बताए ।

राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष टानबहादुर केसीले कम्युनिष्ट आचरणमा रहेका सुवास सरल, निष्कलंक भएकाले संविधान निर्माणमा अत्यन्तै ठूलो भूमिका खेल्न सकेको र उहांको योगदान सधैभर स्मरणयोग्य रहने बताए ।

नेपाली कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरि अर्यालले समकालीन राजनीतिका स्मरणयोग्य र विवादरहित ब्यक्तिको असामयिक निधनले नेपाली राजनीतिले ठूलो क्षति भोग्नुपरेको बताए ।

राप्रपाका महामन्त्री ताहिर अलीले नेपाली राजनीतिका समन्वयकर्ता, सरल र मिठास बोलीका प्रतिमूर्ति, संविधानविद्को निधनले देशलाई क्षति भएको बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यहरु लिला गिरी र दधिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ,जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले सुवास नेम्वाङका योगदानबारे चर्चा गरेका थिए ।