देशभर मनाइयो प्रलेसको ७२ औं स्थापना दिवस

बुटवल, असोज ५ गते । प्रगतिशील लेखक संघले ७२ औं स्थापना दिवस मनाएको छ । २००९ साल असोज ५ गते बिरगञ्जमा श्यामप्रसाद शर्माको नेतृत्वमा प्रगतिशील लेखक संघ स्थापना भएको थियो ।

स्थापना दिवसको अवसरमा शुक्रबार देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी ७२ औं स्थापना दिवस मनाइएको छ । रुपन्देहीको बुटवलमा पनि प्रगतिशील लेखक संघ रुपन्देहीको आयोजनामा रचना वाचन तथा अन्तरक्रिया गरिएको छ ।

सोही कार्यक्रममा बोल्ने लेखक तथा साहित्य स्रष्टाहरुले नेपालको राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा प्रगतिशील लेखक संघको भूमिका महत्वपूर्ण रहेको बताए । उनीहरुले प्रगतिशील लेखक संघमा आवद्व साहित्य स्रष्टाहरुको सहयोगले कम्युनिष्ट पार्टीहरुका राजनीतिक आन्दोलन सफल भएको बताए । बुर्जुवा र पश्चिमेली छाडा संस्कृतिका विरुद्व प्रतिशील साहित्यलाई सही ढंगले अगाडी बढाउनु पर्ने र बाटो बिराउंदे हिडेका राजनीतिक दलहरुलाई खबरदारी आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै वरिष्ठ लेखक तथा कवि रामचन्द्र भट्टराइले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकतावद्व बनाउन प्रगतिशील लेखक संघलाई सक्रिय बनाउनु पर्ने बताए राष्ट्रियता, भौगोलिक अखण्डता, मुलुकको शान्ति, सम्वृद्विका लागि कलम र कलाको माध्यामबाट योगदान दिनुपर्ने उनको भनाइ छ ।

परिवर्तनका बिरोधीहरु भुतपे्रत भएर आएको बताउंदै आकाशमा कालो बादल मडारिन थालेको बताउंदै उनले भने – हामी सबै परिवर्तनकारी सचेत भै एकतावद्द हुनुपर्छ ।

प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य ह्दय लेकालीले कला र साहित्य राष्ट्रको मुल्यवान सम्पति भएको बताउंदै कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन आवश्यक अनुसार कम्युनिष्ट पार्टीहरुलाई साहित्यको माध्यामबाट खबरदारी जरुरी रहेको बताए ।

पत्रकार सुमन अधिकारीले प्रगतिशील साहित्यमा नयां पुस्तालाई आर्कषित गर्नुपर्ने बताउंदै नयां पुस्तालाई साहित्यमा ल्याउन सके मात्र प्रगतिशील लेखक संघको स्थापनाको अर्थको महत्व हुने बताए ।

कार्यक्रममा प्रगतिशील पत्रकार संघका अध्यक्ष तथा प्रगतिशील लेखक संघ रुपन्देही उपाध्यक्ष श्यामलाल पोखरेल, साहित्यकार सीता काफ्ले, हिरालाल धामी, मुकुन्दराज पोखरेल, यज्ञलाल सुवेदी, गणेश घिमिरे, सन्तोष पाण्डे, दिपक न्यौपाने, टेकराज भुसाल, अर्जुन खनाल लगायतले बोल्दै बुर्जुवा संस्कार र संस्कृतिविरुद्व प्रगतिशील साहित्यलाइ सशक्त बनाउनु पर्नेमा जोड दिए ।

प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष, छन्द कवि कविराज पौडेलको अध्यक्षता र सचिव कृष्ण गाउंलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

नेपालमा एउटा कम्युनिष्ट विभाजित भएर दर्जन पार्टी भएपनि प्रगतिशील लेखश संघ विभाजित भएको छैन । अहिलेसम्म सबै कम्युनिष्ट पार्टीको एक मात्र साझा संगठन भनेको प्रगतिशील लेखक संघ हो ।