महंगीले जनता मारमा, व्यापारीको मनपरी, राज्य बेखवर

बुटवल, असोज ८ गते । दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिदै गर्दा बजारमा महंगी तथा मुल्यवृद्वि बढेको छ । व्यापारीले आफूखुशी खाद्यवस्तुको मूल्य निर्धारण गरी बिक्री गरेको उपभोक्ताको गुनासो छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले खासै महंगी नबढेको देखाएपनि चाडपर्व नजिकिन थालेपछि बजारमा हरेक समानमा मूल्यवृद्धि भएको छ । बजारमा दैनिक उपभोग्यवस्तुको मुल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । अहिले चिनी, दाल र अन्य वस्तुको मुल्य बढेको छ । केही समयअघि चामलको मूल्य पनि यसैगरी बढिरहेको थियो । तर, अहिले चामलको मूल्य केही थिर भएपनि अन्य दैनिक उपभोग्व वस्तुको मुल्य बढेको छ । बजारमा अहिले चिनी किलोको मुल्य पसलै पिच्छे फरक–फरक रहेको छ । केही समय अघिसम्म किलोको एक सय रुपैयां रहेको चिनीको मूल्य अहिले १ सय १० देखि २० रुपैयांसम्म पुगेको छ ।

मागको ५० प्रतिशत चिनी आयातमै भर पर्नुपर्ने अवस्था रहेपनि अहिले बढेको मूल्य भने अस्वाभाविक हो । कालोबजारीसंगै कृत्रिम अभाव सिर्जना गरेर महंगो मुल्यमा व्यापारीहरुले खाद्ययवस्तुदेखि हरेक समान विक्री गरिरहंदा पनि महंगी नियन्त्रणमा राज्यले चासो नदिएको उपभोक्ताले बताएका छन् । बजारमा भएको अस्वभाविक मुल्यवृद्वि नियन्त्रणका लागि राज्यले चासो नदिंदा मनपरी बढेकाले अनुगमनलाई निरन्तरता दिने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जीसीले बताए ।

बजारमा व्यापारीले आफूखुशी खाद्यवस्तुको मूल्य निर्धारण गरी विक्री गरिरहंदा पनि राज्यले चासो दिएको देखिदैन । जसका कारण आफूखुशी खाद्यवस्तुको मूल्य बढाउन व्यापारीलाई सहज भएको छ । महंगी तथा मुल्यवृद्दि हुंदा पनि राज्य, सरकारले चासो नदिंदा व्यापारीको मनपरी बढेको छ । कालोबजारीले प्रसय पाएको छ ।