एमसीसीविरुद्ध बुटवलमा नेकपाको मार्चपास

बुटवल, असोज ९ गते । नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको बिरोधमा नेकपाले आज बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध कार्यक्रमको आयोजना गरिएको सो पार्टीले बताएको छ ।

आज दिउंसो साढे १ बजे जेसिसचोकबाट मार्चपास सुरु गरेर नयां बसपार्कमा पुग्ने र उक्त स्थानमा केन्द्रीय सामना परिवारले सांस्कृतिक प्रस्तुति दिने नेकपा पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले नयां दिशालाइ जानकारी गराएका छन् ।
लप्सीफेदीदेखि सुरु गरेको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहु, पाल्पा हुंदै आज बुटवलमा पनि मार्चपास गरी एमसीसीको बिरोध गरिने कार्यक्रम रहेको छ ।

नेकपाले एमसीसी कार्यान्वयन हुने स्थान र क्षेत्रमा उक्त कार्यक्रम गर्दै आएको छ । बुटवलमा हुने कार्यक्रममा सामना परिवारका केन्द्रीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति गर्ने छन् । मंगलबार हुने कार्यक्रमका सहभागिताका लागि नेकपा रुपन्देहीले सम्पूर्ण देशभक्त, बुद्धिजीवी, पत्रकार, विभिन्न राजनीतिक दल एवं जनसमुदायलाई आह्वान गरेको छ ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रीय नेताहरु बोल्ने कार्यक्रम रहेको नेकपा रुपन्देही इन्चार्ज बिरेन्द्र सीले जानकारी गराएका छन् ।