बाँकेमा मृत भेटियो पाटे बाघ

बुटवल, असोज १० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । कचनापुरस्थित अशोक सामुदायिक वनमा मंगलबार बयस्क बाघ मृत अवस्थामा भेटिएको हो ।

मृतक पाटे बाघको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । स्थानीयका अनुसार उक्त बाघ केही दिन अघिदेखि गाउँमा देखिएको थियो । बाघले असोज १ गतेदेखि ८ गतेसम्म स्थानीयले पालेका पशुचौपायालाई आक्रमण गरेको थियो ।

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेका थिए ।

मंगलबार अचानक सोही बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले बताए ।