नेपालको संविधान दक्षिण एसिया मै उत्कृष्ट – पूर्वराष्ट्रपति

नवलपरासी, असोज १५ गते ।  पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबैका अधिकारलाई समेटेको बताएका छन् । लामो सघर्षपछि बनेको संविधान दक्षिण एसियामै उत्कृष्ट भएको भन्दै उनले कार्यान्वयन हुनुपर्ने बताए ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा निर्माण गरिएको महामानव बीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

प्रतापपुर गाउँपालिकाको सहयोगमा निर्माण भएको बीपी कोइरालाको अर्धकदको शालिक अनावरण गर्दै यादवले राजनीतिक परिवर्तनसँगै बनेको संविधानले प्रजातान्त्रिक अधिकार दिएको भन्दै अबको परिवर्तन आर्थिक परिवर्तन भएको बताए । बीपीले परिकल्पना गरेको जस्तै गरी बनेको संविधानले पछाडी पारिएका मधेसी, दलित, महिला, मुस्लिमलगायतका सबै धर्म र समुदायको अधिकारलाई सुनिश्चित गरेको बताए ।

‘संविधानले सबै जातजाती, धर्म समुदायका अधिकारलाई समेटेको छ, तर कार्यान्वयन नहुँदा अधिकार छैन जस्तो देखिएको छ, त्यसका लागि चुनावको समयमा सही प्रतिनिधिलाई छनौट गरेर पठाउनुस् र कार्यान्वयनका लागि दबाब दिनुस् ।’ अधिकार पाएनौ भन्नेहरुका लागि संविधानका धारा धारा पल्टाएर पढ्न पनि उनले सुझाव दिए ।‘ संविधान पढ्दैनन्, अधिकार पाएनौं मात्र भन्छन्, समाज परिवर्तनसँगै संविधान पनि समयानुकुल परिवर्तन हुन्छ, समयअनुसार समेट्नु पर्ने अधिकारलाई जनप्रतिनिधिमार्फत संसद्मा आवाज उठाउन लगाउनुस् परिवर्तन हुन्छ ।’ पूर्वराष्ट्रपति यादवले भने ।

गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न शालिक अनावरण कार्यक्रममा विभिन्न जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । गाउँपालिकाको १० लाखको सहयोगमा शालिकसहितका अन्य संरचना निर्माण गरिएको हो ।