आर्थिक संकट समाधान गर्ने योजना हामीसंग छ – माधव नेपाल

बुटवल, असोज २२ गते । पूर्व प्रधानमन्त्री एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आर्थिक संकट समाधान गर्ने योजना आफ्नो पार्टीसंग भएको दावी गरेका छन् ।

आर्थिक संकट समाधानको स्पष्ट योजनासहित जागरण अभियान सञ्चालन गरिएको बताउंदै उनले भने– देशको उद्योग धन्दा धारासायी हुंदा देशको अर्थतन्त्र संकटग्रस्त भएको बताउंदै अब कृषि, वन र आफ्नै खनिजमा आधारित उद्योगहरुको प्रवद्र्धन गर्नुपर्छ ।

नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियान अन्तर्गत सोमबार बुटवलमा उद्योगी व्यवसायीवीभ भएको अन्तरक्रियामा बोल्दै नेपालले नीतिगत रुपमा दलाल र विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बनेको बताए ।

उनले प्रधानमन्त्री, मन्त्री र उच्चतहका कर्मचारीहरुको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा पुरै धारासायी बनाएको दावी गरे ।
उद्योग व्यवसाय फस्टाउने गरी नीति बनाउनु पर्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्नेमा जोड दिए । व्यवसायीमाथि अहिले वित्तिय शोषण भइरहेको बताउंदै करनीति, भन्सार नीति र स्वदेशी उद्योगको विकास गरी रोजगारी सृजनाका लागि आफ्नो पार्टीका तर्फबाट पहल गर्ने आश्वासन दिए ।

बैंकहरुले अर्बो मुनाफा कमाएपनि उद्योगधन्दाको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन नसकेको बताउंदै मुनाफा कमाईरहेका बैंकहरुले लगानीमा उत्साह थपेर कृषिमा सहुलियत दिएर रोजगारी सृजना गर्न सहयोग गर्नुपर्ने बताए ।
मुलुकको आर्थिक संकट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिका जनसारोकारको मुद्धालाई लिएर मेची– महाकाली समाजवादी जागरण अभियान शुरु गरिएको बताए ।

मुलुकको आर्थिक संकट, उद्योगी व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि प्रधानमन्त्रीसंग छलफल गर्ने व्यवसायीलाई आश्वासन दिंदै उनले भने – मुलुकको राष्ट्रियता र स्वदेशमै रोजगारी सृजना गरी आर्थिक संकटबाट पार लाग्छ ।

उक्त अन्तरक्रियामा उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याज, व्यापार व्यवसायमा देखिएको शून्यता, मूल्यअभिबृद्धि करमा बृद्धि, कच्चा पदार्थको अभाव जस्ता समस्याहरु भोगेको भन्दै आफूहरु विस्थापित हुने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल लगायतको उपस्थिती थियो ।
पार्टी जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादवको अध्यक्षतामा कार्यक्रम भएको हो ।