दाङमा काठ तस्करको समूह सक्रिय

दाङ, असोज २३ गते । दाङमा काठ तस्करको समूहको सक्रियता बढेको छ । काठ तस्कारको समूहले एकै रातमा दुई सय भन्दा धेरै रुख ढलाएको स्थानीयले बताएका छन् ।

घोराही उपमहानगरपालिका १ र बंगलाचुलीको सीमा जोड्ने सुवा खोला क्षेत्रको राष्ट्रिय वनमा असोज १७ गते झण्डै दुई सयको हाराहारीमा साल, अस्ना, सिमल, जामुन लागायतका रूखहरू अवैध फाडान गरिएको हो ।

घोराही उपमहानगरपालिका देखि शुरू भई सिमलतारा, मुलाबारी, हाँसीपुर हुदै भालुबाङ प्युठान सडक खण्डको चैते, शान्तिपुर सडक निर्माणको काम सुरु भएकै मौका छोपेर ठूलो मात्रामा अवैध रुपमा रुख कटान गरिएको हो ।

सडकका लागि संघीय मन्त्रालय र प्रदेश मन्त्रालयको ५०÷५० करोड अनुदानमा निर्माण गर्न लागिएको हो । चालू आर्थिक वर्षमा पचास करोड रुपैयाँ बजेट विनियोजन भई निर्माण गर्न लागिएको सो सडकमा पर्ने रुख कटानका लागि वन कार्यालयले अनुमति नदिँदा करिब दुई किलोमिटर लम्बाईमा रहेको सुवा खोला राष्ट्रिय वन क्षेत्रमा सडक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

यसैबीच अज्ञात समूहले एकै रातमा उक्त क्षेत्रका रूखहरू अवैध फडानी गरेको पाइएको जिल्ला वन कार्यालय दाङका डीएफओ मोहनलाल श्रेष्ठले पुष्टि गरेका छन् । स्थानीयले भने करिब दुई सयवटा रुख कटान भएको दावी गरेका छन् ।
डीएफओ श्रेष्ठले साल रअसनाका ७१ वटा ठूला रुख तथा सिमल, जामुन लगायत विभिन्न प्रजातिका २५ वटा साना ठुला रुख ढालिएको बताए ।

उनले काठ तसकारको पहिचान गरी कारवाही गरिने चेतावनी दिएका छन् । वन कार्यालयका प्रमुख मोहनलाल श्रेष्ठले काठ तस्कारको पहिचान गरी कानुनी कारबाही गरिने प्रतिवद्दता जनाएका छन् ।