सरकारले राम्रो काम गरेन – विष्णु पौडेल

बुटवल, असोज २८ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले राम्रो काम नगरेको बताएका छन् । सरकारले शान्ति सुरक्षा, अमन चयन कायम गर्न नसकेको उल्लेख गर्दै सरकारको गलत नीतिका कारण मुलुकमा आर्थिक संकट उत्पन्न भएको आरोप लगाए ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न खोजेपनि आफै भ्रष्टाचारमा मुछिएको दावी गर्दै सरकारसंग केही आसा गर्न नसकिने भन्दै उपाध्यक्ष पौडेलले सरकारको आलोचना गरे ।

पे्रस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदान– प्रदान कार्यक्रममा बोल्दै सरकारले भ्रष्टाचारीलाई राजनीति करण गरेको आरोप लगाए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका सांसद पौडेलले अदालतले दोषी ठहर गरेको अपराधीलाई राजनीतिक आस्थाका आधारमा कानुनको दुरुपयोग गरेर सरकारले आममाफी दिएर गलत गरेको बताए । उनले राष्ट्रपति सम्मानित संस्था भएको उल्लेख गर्दै संविधानले परिकल्पना गरेझै राष्ट्रपतिले काम नगरेर कांगे्रसको प्रचार गरेको नेता पौडेलले आरोप लगाए ।

 

सरकारको गलत नीति र कार्यक्रमले नेपाल असाधारण संकटको डिलमा पुगेको बताउंदै संविधानले जनतालाई सार्वभौम बनाएपनि सरकारले संविधान पालना नगरेको संकेत गरे ।

 

उनले सामाजिक सद्भाव र एकताको रुपमा पर्वहरु मनाउनु पर्ने बताउंदै विविधताले भरिएको नेपालमा सामाजिक सद्भाव र एकता कायम राख्नुको विकल्प नभएको बताए । उनले सामप्रादायिक एकतलाई कायम गर्नुपर्ने बताउंदै विभिन्न जाती, भाषा, संस्कृतिको संरक्षण गर्ने गरी आपसी सद्भाव कायम गरेर चाडपर्वहरु मनाउनु पर्नेमा जोड दिए ।

 

पे्रस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता र सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।