राष्ट्र संघका महासचिव गुटेरेस नेपालमा

काठमाडौं, कार्तिक १२ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि आज आइतबार नेपाल आएका छन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक रुपमा नेपाल आएका हुन् ।

उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन् ।

नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थियो । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको छ ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जानकारी गराईएको छ ।

उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुने छ ।भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्तिवक महत्तवको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्ने छन् ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा कात्तिक १३ गते सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने छन् ।

त्यस्तै कात्तिक १४ गते मंगलबार ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।