प्याजको मुल्यवृद्दिले उपभोत्ता मारमा

बुटवल, कार्तिक १३ गते । दैनिक उपभोग्य वस्तुको मुल्यवृद्विले मारमा परेका उपभोक्ता प्याजको मुल्यवृद्विले थप मारमा परेका छन् । नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ ।

अहिले प्याजको होलसेल मूल्य प्रतिकिलो १ सय १० देखि १ सय २५ रुपैयां पुगेको छ । केही दिन अघिसम्म खुद्रा मुल्य ८५ देखि ९० रुपैयां प्रतिकिलो पाइने प्याज अहिले प्रतिकिलो १ सय ३० देखि १ सय ४० रुपैयां पुगेको छ । नेपालमा बिक्री भइरहेको ९० प्रतिशत भन्दा बढी प्याज भारतबाट नै आयात हुन्छ। भारतले प्याजको निर्यातमा थप अंकुश लगाएपछि अहिले नेपालमा प्याजको मुल्य बढेको व्यवसायीले बताएका छन् ।

भारतले निर्यात निरुत्साहित गर्नका लागि न्यूनतम निर्यात मूल्य निर्धारण गरेको छ। जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो। नेपालमा उत्पादन भैनसकेको र भारतमा स्टक प्याज सकिएकाले मुल्यवृद्वि भएको हो । भारतमा नयां प्याज तयार नभएकाले नेपालमा प्याजको मुल्य अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् । त्यसमा लाग्ने मूल्य अभिवृद्धि कर तथा अन्य व्यापारिक लागतले पयजको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।

भारतबाट नेपालमा प्याज आउंदा प्रतिकिलो १०५ रूपैयां भन्दा बढीमा आउने गरेको छ । प्याजमा भारतको भरपर्दा नेपालमा प्याजको मुल्यवृद्वि भएको लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघका व्यवसायी शिवहरि भुसालले बताए । भारतमा नयां प्याज उत्पादन भएर नेपाल आयत नहुंदासम्म प्याजको मुल्य नघट्ने व्यवसायीले बताएका छन् ।
हरेक दैनिक उपभोग्य वस्तुसहित तरकारीमा भारतको भरपर्दा नेपालीले सधै नै महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।