बुटवलमा शंकास्पद मृत्यू गुल्मीका रामबहादुरको, हत्या भएको परिवारको दावी


बुटवल, कार्तिक १४ गते । गुल्मी मुसीकोटका ४५ वर्षिय रामबहादुर राना गत फागुन २४ गते बुटवलमा मृत अवस्थामा भेटिएका थिए । होटेल तथा रेष्टुरेन्ट ब्यबसायी राना
आठ महिनाअघि शंकास्पद रुपले मृत अवस्थामा फेला परेपछि घरपरिवार मृत्यु नभइ हत्या भएको दावी गरेका थिए । आठ महिना अघि मृत भेटिएका रामबहादुर रानाको मृत्यु भएको होकी कसैले हत्या गरेको हो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

प्रहरीले अझैसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको परिवारको गुनासो छ । गत फागुन २४ गते राती बुटवल ६ चाँदबारीस्थित खोलामा रामबहादुरको शंकास्पद रुपमा हत्या भएको र घटनाको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको पिडित परिवारले गुनासो गरेका हुन् ।
होटेल तथा रेष्टुरेन्ट ब्यबसायी रामबहादुरको बुटवल ६ पुरानो बुटवल चलचित्र हलको पछाडीतिरबाट दिपनगर डेरातर्फ जानेक्रममा हत्या भएको र आफ्नो श्रीमानको शंकास्पद रुपमा मृत फेला परेको भएपनि प्रहरीले घटनालाई गम्भीर रुपमा नलिएको भन्दै श्रीमती अम्बी रानाले चिन्ता ब्यक्त गरेकी छन् । मृतक रामबहादुरकी श्रीमती रानाले पत्रकारहरुसँग कुरा गर्दै घटना घटेको आठ महिना बितिसक्दा पनि प्रहरीले घटनाको अनुसन्धानमा चासो नदिएको बताएकी छन्
।
रातको पौने १० बजेसम्म परिवारको सम्पर्कमा रहेका राना राती घर नगएपछि अर्को दिन बिहानै खोजतलास गर्दा परिवारले मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउकाको पछाडीको भागमा गम्भीर चोट लागेको र सिसी टिभि फुटेजमा एक ब्यक्तिले कठालोमा समातेर लगेको देखिएकाले दुर्घटना नभएर हत्या भएको परिवारको दाबी छ ।
मृतक रानाकी श्रीमतीले आफ्नो श्रीमानको हत्या भएको र प्रहरीमा पटक पटक किटानी जाहेरी दिएपनि प्रहरीले जाहेरी दर्तासमेत नगरेको गुनासो गरेकी छन् । घटनास्थल नजिकै करिब १ सय मिटरको दुरीमा प्रहरी विट छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डिएसपी दानबहादुर थापाले घटनाको अनुसन्धान भैरहेको र निष्कर्षमा नपुगेसम्म सबै कुरा थाहा नहुने बताए । शंकाश्पद मान्छेहरुलाई सोधपुछ भएको डिएसपी थापाले जानकारी गराए ।























