राष्ट्रसंघका महासचिवको हस्ताक्षर किर्ते गरी ठगी गर्ने महिला पक्राउ
काठमाण्डौं, कार्तिक १५ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा रहेकै बेला उनको हस्ताक्षर किर्ते गरेरठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरी ९० जनाबाट अढाई करोडभन्दा बढी रुपैयां ठगी गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोल स्थायी ठेगाना भएकी ३२ वर्षीया सुरुची भुजेल पक्राउ परेकी हुन् । भुजेललाई जिल्ला अदालत काठमाडौंले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भूकम्पले क्षतिग्रस्त टर्कीका भवन पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत त्यहां लाने प्रलोभन देखाएर ९० जनाबाट २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयां ठगी गरेको जाहेरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भुजेललाई पक्राउ गरेको हो ।
सो ठगी मुद्दामा प्रहरीले सुरुचीका पति विनोद श्रेष्ठ र भाइ सुजन भुजेललाई पनि प्रतिवादी बनाएको छ। हाल उनीहरू फरार रहेको समाचार श्रोतले बताएको छ ।