प्रधानमन्त्री चढेको हेलिकप्टरबाट घाइतेको उद्दार, भूकम्पमा परी १ सय २८ बढीको मृत्यु

बुटवल, कार्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट घाइतेहरुको उद्दार गरिएको छ । प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन् । प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

जाजरकोट केन्द्रबिन्दु भए शुक्रबार राती गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ। भूकम्पमा परी आज बिहानसम्म जाजरकोटमा ९५ जना र रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।

त्यस्तै जाजरकोटमा ७० र रूकुम पश्चिममा ८५ जना घाइते भएका छन्। अहिलेसम्म १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल लगिएको पनि एसएसपी भट्टरईले जानकारी दिए।