कान्तिपुरविरुद्ध महासंघको आन्दोलनप्रति प्रगतिशील पत्रकार संघको ऐक्यवद्दता

बुटवल, कार्तिक १८ गते । कान्तिपुर मिडिया गु्रपले ८२ जना पत्रकारलाई निष्काशन तथा अनधिकृत सरुवा गरेपछि त्यसको विरुद्ध नेपाल पत्रकार महासंभले घोषणा गरेको आन्दोलनप्रति प्रगतिशील पत्रकार संघ, नेपालले ऐक्यवद्दता जनाएको छ ।
अध्यक्ष श्यामलाल पोखरेलले शनिबार विज्ञप्ती जारी गरी कान्तिपुरबाट निष्काशित सबै पत्रकारलाई अविलम्ब पुनर्बहाली गर्न र अनधिकृत सरुवा बदर गर्न आग्रह गरेका छन् ।
पत्रकार महासंघको आन्दोलनप्रति नैतिक समर्थन रहेको र उक्त महासंघको आन्दोलन सफल बनाउन भौतिक रुपमा उपस्थिति जनाउने अध्यक्ष पोखरेलद्दारा जारी गरेको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

प्रेसवक्तव्यको पूर्णपाठ 

“कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारहरूलाई गरेको निष्काशन र अनधिकृत सरुवा तथा त्यसको विरुद्धमा नेपाल पत्रकार महासङ्घद्वारा घोषणा गरिएको चरणबद्ध आन्दोलनप्रति हाम्रो संगठन प्रगतिशील पत्रकार संघ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

कान्तिपुरद्वारा पत्रकारको निष्काशन तथा अनधिकृत सरुवा श्रमजीवी पत्रकारको विरुद्ध भएको प्रष्टै छ । यस्तो कार्यले श्रमजीवी पत्रकारको जनजीविकाकामाथि नै गम्भीर सङ्कट उत्पन्न भएको छ । त्यति मात्रै होइन, यसरी ठुलो सङ्ख्यामा पत्रकारहरूको निष्काशनबाट नेपालको संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रताको कार्यान्वयनसमेत कुण्ठित हुने छ । त्यसैले हाम्रो संगठन कान्तिपुर मिडिया गु्रपद्वारा निष्काशन गरिएका पत्रकारको तत्काल पुनर्बहाली गर्न तथा अनधिकृत सरुवालाई खारेज गर्न माग गर्दछ ।

श्रमजीवी पत्रकार विरुद्ध कान्तिपुरको उक्त कदमका विरुद्ध नेपाल पत्रकार महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आइरहेको छ । त्यस क्रममा यही २०८० कात्तिक १८ देखि मङ्सिर १० गतेसम्म दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ । हाम्रो संगठन महासंघद्वारा घोषणा गरिएको उक्त आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछ ।

हाम्रो संगठन सधै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । हामीले लगातार श्रमजीवी पत्रकार ऐनकोपूर्ण कार्यान्वयनको पक्षमा आवाज उठाउंदै आइरहेका छौ । त्यस क्रममा हामी यतिखेर कान्तिपुर मिडिया गु्रपबाट निष्काशित पत्रकारको पक्षमा छौँ । प्रगतिशील पत्रकार सङ्घ निष्काशित पत्रकारहरूको पक्षमा उभिँदै पत्रकार महासंघद्वारा घोषित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै संर्घाका उक्त कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउने जानकारीसमेत दिन चाहान्छौ ।”