भुकम्पमा परी १५७ जनाको मुत्यु

बुटवल, कार्तिक १८ गते । शुक्रबार राती जाजरकोटको बारेकोट गाउंपालिका केन्द्र बिन्दु भएर गएको भुकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । जाजरकोट र रुकुमपश्चिममा गरी मृत्यु हुनेको संख्या १५७ पुगेको हो ।

जाजरकोटमा १ सय ५ जनाको र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी थापाका अनुसार भुकम्पमा परी २ सय २ जना घाइते भएका छन् । जसमा जाजरकोटमा १ सय ५ जना, रुकुम पश्चिममा ८५ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना र रोल्पामा १ जना गरी २ सय २ जना घाइते भएका छन् ।

भूकम्पमा परी घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राती ११ बजेर ४७ मिनेट जांदा जाजरकोटको बारेकोट गाउंपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले भूकम्पमा परेका मानिसको उद्धारकार्य करिब सकिएको बताए ।

घाइते मध्ये ३० देखि ३५ जना गम्भीर घाइते रहेको प्रहरीले बताएको छ । गम्भीर घाइतेमध्ये २७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। अन्यको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केही घाइतेहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको एसएसपी भट्टराईले जानकारी दिनुभएको छ । भुकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि ज्यान गएको छ । सिंहको सदरमुकाम खलंगामा रहेको बखत भुकम्पमा परी मृत्यु भएको हो ।

 

भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुले तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा वर्षाको सम्भावना नरहेको बताएको छ ।

यस्तै नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।