आमाको हत्या प्रयासबाट घाइते नवजात शिशुको मृत्यु

दाङ, कार्तिक २५ गते । दाङमा आफ्नै आमाको हत्या प्रयासबाट घाइते नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ । गत कात्तिक ८ गते दाङको लमही नगरपालिका ७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले आफ्नै १६ दिने छोरीको घांटी चक्कुले रेटेर हत्या प्रयास गरेकी थिईन् ।

सोही क्रममा घरका सदस्यले देखेपछि बालिकाको घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको थियो । लमही हुंदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसम्म ल्याएर उपचार गरी पांच दिन अघि घर लगिएकी शिशुको बिहीबार मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले शिशुको मृत्यु भएपछि आमा निर्मालाई पक्राउ गरेको छ । मानसिक स्वास्थ्य ठीक नभएकी भनिएकी निर्मालाई यसअघि नै प्रहरीले नियन्त्रणमा लिएको भएपनि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाएको थियो ।
केही दिनको उपचारपछि उनलाई घरमा लगिएको थियो । छोरीको मृत्युपछि भने प्रहरीले शुक्रबार निर्मालाई नियन्त्रणमा लिएको हो ।