बुटवलमा दीपावली महोत्सव

बुटवल, कार्तिक २८ गते । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको अमरपथ क्षेत्रमा दीपावली महोत्सव सुरु भएको हो । शनिबारदेखि शुरु भएको दीपावली महोत्सव तीन दिनसम्म चल्ने छ ।

दीपावली महोत्सवको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले बुटवलको विकास सबैको साझा विषय भएकाले नगरपालिकाले सबैसंग सहकार्य गरेर अघि बढ्ने बताए ।

हिजो चलनचल्तीमा हुंदै आएको व्यापार व्यवसायलाई आधुनिक परिवेश अनुसार चलाउन सुझाव दिंदै नगर प्रमुख पाण्डेयले उनले भने – बुटवलमा चहल पहल बढाउन सबैको साथ सहयोग चाहिन्छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलो लगायतका सांस्कृतिक पर्वसंग जोर्डिका कार्यक्रमलाई मौलिक बनाउन र भड्कीलो नगराउन आग्रह गरेका छन् ।

कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापारलाई उठाउनको लागि बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बुटवल उद्योग वाणिज्य संघले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ ।