भूकल्प पीडित परिवारलाई सरकारले ५० हजार दिने

काठमाण्डौ, कार्तिक २७ गते । सरकारले जाजरकोट र बझाङ भूकम्पप्रभावितका लागि अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने भएको छ ।

बिपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आइतबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बिपत् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सो रकम २५÷२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुमपश्चिम जिल्लालाई पाँच÷पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ ।

साथै जाजरकोट, पश्चिमरुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले बिपत् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ बमोजिम बमोेजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्न सक्ने खर्च र सीमा तोकेको छ ।

त्यसैगरी, भूकम्पको कारण क्षति भएका निजी आवास, सार्वजनिक भवन र संरचनाको प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापना योजना बनाउन विस्तृत क्षति आँकलन–मूल्याङ्कन, जनशक्ति र खर्चबारे समेत बैठकले आवश्यक निर्णय गरेको बताइएको छ ।