पक्राउ पूर्जीको बिरोधमा नेकपाको आन्दोलन घोषणा

बुटवल, मंसिर १९ गते । नेपाल कम्युनिष्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको भन्दै त्यसको बिरोध गरेका छन् ।

पक्राउ पूर्जीविरुद्ध आज मसाल जुलुस प्रदर्शन गर्ने, भोली २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् । २०७६ सालको एक घटनामा जिल्ला अदालत काठमाडौंले विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना सोमवार गोरखापत्रमा प्रकाशित भएको थियो ।

काठमाडौं जिल्ला अदालतले सरकारले दर्ता गरेको राज्यविरूद्धको कसुरका दुई मुद्दामा चार नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले सोमबार गोरखापत्रमा प्रकाशन गरेको सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको थियो । त्यस्तै राज्यविरूद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

९ असोज २०७६ मा दर्ता भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्यविरूद्धको कसुर गरेको अभियोग छ । अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नवीन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।

त्यही दिन हरिबहादुर खड्का, नेत्रविक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरूद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरूमाथि संगठित आपराधिक समूहमा आबद्ध भई विष्फोटक पदार्थसम्बन्धी कसुर गरेको आरोप छ । उनीहरू फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरूलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेशअनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।
आन्दोलन दवाउन सरकारले दमन गरे प्रतिरोध गरिने विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले चेतावनी दिएका छन् ।