नेकपाका नेता विरुद्धको पक्राउ पुर्जी खारेज गर्नुपर्छ – मसाल

 

बुटवल, मंसिर १९ गते । नेकपा (मसाल) ले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता विरुद्ध काठमाडौं जिल्ला अदालतले मङ्सिर १८ गते जारी गरेको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले मंगलबार प्रेसवक्तव्य जारी गरी पार्टीको निर्णय सार्वजनिक गर्दै नेकपाका नेता तथा कार्यकर्ता विरुद्धको पक्राउ पुर्जी गलत भएको भन्दै उक्त पक्राउ पुर्जी खारेजको माग गरेका छन् ।

पहिले पक्राउ पुर्जी जारी भएको भए पनि त्यसलाई खारेज गर्नुपर्नेमा अहिले फेरि पक्राउ पुर्जी जारी भएकोमा मसालले प्रेसवक्तव्यमा आपत्ति प्रकट गरेको छ ।

प्रेसवक्तव्यको पूर्ण पाठ 

“काठमाडौँ जिल्ला अदालतले का. विप्लवसहितका कतिपय नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको समाचार पढेर धेरै नै आश्चर्य लागेको छ ।

सरकारसित सम्झौता गरेर शान्तिपूर्ण आन्दोलनका पक्षमा आएका व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्नु सरकारसित भएको सम्झौताको उल्लङ्घन हो । उनीहरूको नाममा पहिलेका मुद्दामा पक्राउ पुर्जी नै भएको भए पनि ती मुद्दालाई खारेज गरेर अदालतमा उनीहरूको विरुद्ध भएका पक्राउ पुर्जीलाई सम्झौता कार्यान्वयन गर्न सरकारले पहलकदमी गर्नुपर्दथ्यो । अहिलेसम्म त्यस प्रकारको पहलकदमी नगरिएको भए पनि कामरेड विप्लवसहितका व्यक्तिहरू विरुद्धका पक्राउ पुर्जी खारेज गराउन हामीले सरकारसित माग गर्दछौँ ।”