विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई मुद्दा

बुटवल, मंसिर २० गते । छात्रामाथि निर्घात कुटपिट गर्ने एक शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मुद्दा चलाएको छ । जिल्लाको सरावल गाउँपालिका— ७ बर्गदवास्थित कालिका इङ्गलिस बोडिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए । उनी सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा हुन् ।

शिक्षक यादवले छात्राकोको टाउको, पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए । कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा प्रहरीले कुटपिट गर्न शिक्षक यादवलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको हो । पक्राउ परेका शिक्षकमाथि बालकालिका विरुद्धको अपराधमा मुद्दा दर्ता कारबाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले बताए ।

अपराध ठहर भएमा एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । बिरामी भएर घरमा रहेकी छोरीलाई शिक्षक यादवले स्कुल किन नगएको भन्दै लछार पछार गरी विद्यालय लगेको र त्यहाँ लगेर प्लाष्टिकको पाइपले शरिरका विभिन्न ठाउँमा निला डाम हुने गरी निर्घात कुटपिट गरेको भन्दै परिवारले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावले विद्यालयमा तालाबन्दी गरी कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए । स्थानीय ओमप्रकाश ठाकुरले शिक्षक यादवले विद्यार्थीलाई पटक पटक कुटपिट गर्दै आएको बताए ।

सरावल गाउंपालिका बालमैत्री पालिका बनाउने योजना बनेको बेला बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै स्थानीयले दोषी माथि कारबाहीको माग गरेका छन् ।