सिद्धबाबा सुरुङमार्गको काम छिटो गर्न मन्त्रीको निर्देशन

   बुटवल, पुस १ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्ग अवलोकन गरेका छन् । शनिबार अवलोकन गरेका मन्त्रीले काम सुस्त भएको भन्दै कामलाई तीव्रता दिन निर्देशन गरेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधिन सिद्धबाबा सुरुङ मार्गको स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएको भन्दै तीव्र गतिमा काम गर्न निर्देशन दिएका हुन् ।

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउंदै मन्त्री प्रकाश ज्वायलाले भने – यसको काममा कुनै पनि लापरवाही नगरी छिटो गर्नुपर्छ ।

अहिले ८,९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्ता बढाउनका लागि स्थलगत निरीक्षण गरिएको मन्त्री ज्वालाले बताए ।

 

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल बनाउन आकस्मिक रुपमा निरीक्षण गरिएको बताए । मन्त्रीले निरीक्षणपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रती सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।

मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्धार सहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले सुरुङमार्गको अवधारणा अघि सारिएको हो । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गका लागि ७ अर्ब ३४ करोड सम्झौता गरेको हो ।

निरीक्षणमा सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले कामले गती लिन नसकेको स्विकार गर्दै सुरुङमार्ग नेपालका लागि नयां भएकाले अहिले बाहिरी डिजाईन स्विकृत गरेर काम भइरहेको जानकारी गराए ।

यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गरेका छन् । सडक निर्माण समयमा पूरा नहँंदा नागरिकले सास्ती पाएको बिषयमा जनगुनासो व्यापाक भएकाले आफू निरीक्षणमा आएको बताए ।