लुम्बिनीमा विश्वशान्ति धामको काम

लुम्बिनी, पुस १ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन विश्वशान्ति धामको काम शुरु भएको छ । धाम निर्माण स्थलमा शनिबार ढुंगा बिछ्याएर निर्माण कार्यको थालनी गरिएको हो । लुम्बिनीबाट विश्वशान्तिको सन्देश दिनका लागि विश्वशान्ति धाम निर्माण गर्न लागिएको हो । विश्वशान्ति कामनाको अभियान्ता नेपाली मूलका अमेरिकी नागरिक धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेको ¥याङ्ग्रिग एसे फाउण्डेसनले धाम बनाउन लागेको हो ।

विश्वभर छरिएर रहेका बौद्धधर्मालवम्बी, अनुयायी, भिक्षुभिक्षुणी तथा आम मानिसको सहयोगमा धाम निर्माण गर्न लागिएको फाउण्डेसन सञ्चालकहरुले बताएका छन् । उक्त असवरमा बोल्दै फाउण्डेसनका संचालक तथा धाम निर्माणकर्ता रिन्पोछेले विश्वशान्ति शान्तिको सन्देश दिने र मानवीयता कायम राख्ने बताए ।

मानवताको कल्याण र लाभको लागि विश्वशान्ति धाम एक खुला मञ्च हुने बताउंदै विश्वव्यापी द्वन्द्वको शान्तिपूर्ण समाधानहरु खोज्न सहयोग पुसग्ने बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले बुद्धजन्मस्थलमा विश्वशान्ति धाम बन्नु सबैका लागि गौरवको विषय भएको बताए । धाम निर्माणपश्चात विश्व शान्तिका लागि प्रार्थना गर्नेहरुको आकर्षण बढ्ने उल्लेख गर्दै धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न पनि टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

नेपालका लागि अमेरिकी राजदुताबासकी प्रवक्ता जेहरा नक्वीले पवित्रस्थल लुम्बिनीमा अमेरिकाको प्रतिनिधित्व गर्ने पहिलो धाम बन्न लागेको भन्दै खुशी व्यक्त गरिन् । उनले विश्वशान्ति धामका कारण अमेरिकीहरुलाई लुम्बिनी आउन र बुद्धधर्मबारे थप बुझ्न सहयोग पुग्ने बताइन ।

धाम निर्माणका लागि रिन्पोछेलाई लुम्बिनी विकास कोषले ६ रोपनी जमिन उपलब्ध गराएको छ । सन् २०१३ र २०१७ मा गरी प्लट उपलब्ध गराइएको थियो । विश्वशान्ति धाम ३ हजार ४ सय स्क्वायरफुटमा बन्ने छ भने ४४ मिटर अग्लो हुनेछ ।

धाममा ध्यानकेन्द्र, सभाहल, मायादेवीको सेन्चुरी हल, पुस्तकालय र बुद्धमूर्ति राखिने छ । बुद्धजन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको पुनःनिर्माण शिलान्यास समारोहपछि सहभागीहरु र उपाध्यक्ष ड.लामासहितका बौद्ध गुरु लगायतल श्रमदान गरेका थिए ।