रुपन्देही व्यापार संघमा चुनाबी माहोल

वरिष्ठ उपाध्यक्षमा ढकाल र महासचिवमा पन्थ निर्विरोध

बुटवल, माघ ३ गते । रुपन्देही व्यापार संघमा आवद्द व्यवसायीलाई चुनाब लागेको छ । यही माघ ५ गते व्यापार संघको संघको २२ औं साधारणसभा तथा १२ औं अधिवेशन हुदै छ । अधिवेशनबाट नयां नेतृत्व चयनका लागि अहिले संघमा आवद्द व्यवसायी चुनाबी अभियानमा जुटेका छन् ।

संघको अधिवेशनले आगामी २ वर्षका लागि नयां नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि सहमति नजुटेपछि चुनाबी प्रक्रिया शुरु भएको छ । संघको निर्वाचन तालिका अनुसार मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
करिब १६ सय मतदाता रहेको व्यापार संघमा संघका पूर्व अध्यक्षको हस्तक्षेपकारी भुमिका रहेपछि व्यवसायी दुई प्यानलमा विभाजित भई उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र द्वितीय उपाध्यक्ष दिपक अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।
भण्डारी संघको कार्यसमितिको सदस्यदेखि वरिष्ठ उपाध्यक्षसमेत भएका छन् । त्यस्तै दिपक अधिकारी २ कार्यकाल सदस्य, २ कार्यकाल कोषाध्यक्षको जिम्मेवारी पुरा गरेका अधिकारी हालका द्धितिय उपाध्यक्ष हुन् ।

वरिष्ठ उपाध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष प्रकाश ढकाल र महासचिवमा फर्सुराम पन्थ निर्विरोध निर्वाचित भएका छन् । यद्यपी निर्वाचन समितिले त्यसलाई बैधानिकता दिएको छैन । त्यस्तै प्रथम उपाध्यक्षमा वर्तमान महासचिव दयानिधि भण्डारी र कोषाध्यक्ष ऋषिराम पाण्डे, द्धितिय उपाध्यक्षमा प्रेमनाथ पाण्डे र नामदेव पाण्डेको उम्मेवदारी परेको निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्षमा मनिराम खनाल र झविन्द्र अधिकारीको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार सचिवमा मनहरी बस्याल र मनिमदिन मिया, सहसचिवमा प्रकाशराज पौडेल र मेघनाथ पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद भट्टराई र विनित भट्टाराईको उम्मेदवारी परेको छ । पदाधिकारी बाहेक २१ जना सदस्यका लागि ३६ जनाको उम्मेदवारी परेको ।
अध्यक्ष पदका दुबै उम्मेदवारले कुनैपनि सर्तमापछि नहट्ने दाबी गर्दै चुनाबमै जाने बताएका छन् । अध्यक्ष पदका दावेदार डिल्लीराज भण्डारीले आफु संघको संस्थापक हुंदै निरन्तर काम गर्दै आएकाले अहिलेसम्म गरेको कामको मूल्यांकन व्यवसायीले गर्ने र आफु अध्यक्ष बन्ने बताए । यस पटक अध्यक्ष नियमपूर्वक आफु हुने भण्डारीको भनाइ छ ।
अध्यक्ष पदका अर्का दावेदार दिपक अधिकारीले सधैभर व्यवसायिक संघ संस्थाहरु परम्परागत ढंगले नचल्ने बताउंदै संघको नेतृत्व युवामा लैजानका लागि आफुले उम्मेदवारी दिएको बताए । अधिकारीले आफुलाई युवा व्यवसायी भएकाले आफु अध्यक्ष हुनुपर्ने अडान राखेका छन् ।

अध्यक्षका दुबै आकांक्षी पछाडी नहट्ने भन्दै आफ्नो पक्षमा मत बढाउने गरी व्यवसायीलाई भेटघाटमा लागेका छन् । मंगलबार उम्मेदवारी दर्ता भएपछि रुपन्देही व्यापार संघमा अहिले चुनाबी सरगर्मी बढेको छ ।
संघका वर्तमानदेखि पूर्व अध्यक्षहरु पनि नयां नेतृत्वको विषयमा विभाजित घएपछि रुपन्देही व्यापार संघमा चुनाबी अभियान शुरु भएको छ ।
बुटवल उद्योग बाणिज्य संघबाट अलग भएका व्यवसायीले २०५७ सालमा रुपन्देही व्यापार संघ स्थापना गरेका थिए ।