बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

बुटवल, माघ २४ खगते । बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरणका लागि सबै प्रकारको सहयोग गर्ने बताए।

उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाईएको जानकारी गराउंदै भने – नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन दिन्न ।
अव्यवस्थित बसोबासीको पूर्जा वापत लिइने राजश्व रकम धेरै भएकाले प्रधानमन्त्रीलाई जानकारी गराउँदै राजश्व रकम घट्ने उनले आश्वासन दिए ।

नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गर्दै उनले पटकपटक नापजाँच गर्ने र लालपूर्जा वितरण नगर्ने काम भएकाले यसपटक पूर्जा दिने गरी प्रक्रिया पूरा गरेर नापजाँच गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाएका थिए।
वडा नं १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे।

यस अघि बुटवल २ र ११ का अधिकांश पूर्जाविहिन जग्गाको नापजाँच भएर भूमि आयोगमा पठाइएको छ।