जनयुद्द दिवसमा नेकपाद्दारा बुटवलमा रक्तदान

  बुटवल, फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले २९ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ । फागुन १ गते मंगलबार देशभर विभिन्न रचनात्मक कार्यक्रम गरी जनयुद्व दिवस मनाएको नेकपाले बुटवलमा रक्तदान र सम्मान कार्यक्रम आयोजना गरेको हो ।

बुटवलको रक्तसंचार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको छ । नेकपा रुपन्देहीले २९ औं जनयुद्व दिवसको अवसरमा २९ युनिट रगत संकलन गरेको सो पार्टीका रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले जानकारी गराए ।

नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वी लुम्बिनी ब्युरो ईन्चार्ज वसन्त सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपाका नेता प्रकाशसिंह रानालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ ।

सोही कार्यक्रममा बोल्दै नेकपा नेता वसन्त सीले जनयुद्धलाई स्वीकार नगर्नु भनेको नेपालको ऐतिहासिक यथार्थतालाई अस्वीकार गर्नु हो भन्दै तत्कालिन माओवादीले गरेको जनयुद्ध सामाजिक जागरणको महान अभियान भएको दावी गरे । संकिण सोंच र क्रान्ति बिरोधी तत्वले जनयुद्धलाई अपराधिकरण गर्ने दुस्साहस गरेको उल्लेख गर्दै उनले भने – जनयुद्वको बदनाम नगर्न आग्रह गर्दै जनयुद्वले परिवर्तन ल्याएको हो ।

उनले ईतिहाको समीक्षा गरी नयां ढंगले राष्ट्रिय सहमति कायम गर्दै नेपाली विशेषताको समाजबादका लागि अगाडी बढ्नुको अर्को विकल्प नभएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य शरद सी, बिस्वास सी, नियमित रक्तदाता संघ नेपालका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, रक्त संचार केन्द्र बुटवलका प्राबिधिक चन्द्र झेंडी लगायतले सुभकामाना व्यक्त गरेका थिए ।

नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सीको अध्यक्षता, दक्षीण जिल्ला सेक्रेटरी नवीन सीको स्वागत र जिल्ला सदस्य शिसिर सीको संचालनमा कार्यक्रम भएको हो ।
२९ औं जनयुद्व दिवसको अवसरमा नपाल कम्युनिष्ट पार्टी रुपन्देहीले बुटवलमा दीपप्रज्वलन गरेको छ । विप्लव नेतृत्व नेकपाले बुटवलसहित देशभरका शहरमा र गाउंगाउंमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी २९ औं जनयुद्द दिवस मनाएको बताएको छ ।