खुला सीमानाले किराना व्यवसायी मारमा

पत्रकार आचार्य प्रदीप सम्मानित

बुटवल, फागुन २९ गते । बेलहिया नाकाबाट हुदै आएको खुल्ला अबैध व्यापार तथा चोरी निकासीले साना व्यवसायी मारमा परेको खुद्रा किराना व्यवसायीले बताएका छन् । खुला सिमाना, भन्सार तथा दर्ता बिहिन सञ्चालन हाटबजारले किराना विस्थापितको अवस्थामा पुगेको किराना व्यवासयीको गुनासो छ ।

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको मंगलबार सम्पन्न १७ औं साधारण सभा तथा नवौं अधिवेशमा बोल्ने वक्ताले हाटबजारमा दर्ता नभएका, ठेला र झोलामा समान बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको बताए । खुल्ला सिमानाबाट हुने अबैध व्यापार रोकी दर्ताबिहिन ब्यवसायीलाई करको मापदण्डमा ल्याएर नियमित अनुगमन गर्न उनीहरुले स्थानीय सरकारसंग माग गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले खुल्ला सीमानाले खुद्रा किराना व्यवसायी प्रत्यक्ष मारमा परेको बताउंदै किराना ब्यवसायीका समस्या समाधान गर्न बुटवल उपमहानगर व्यवसायीको साथमा रहेको बताए । बुटवल उपमहानगरले साना ब्यवसायीलाई बचाउने गरी काम गरिरहेको बताउदै उनले भने – बुटवलमा नियमित अनुगमन भैरहेको छ, बुटवल उपमहानगरपालिका सबै व्यवसायीको साथमा छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर शर्मा पौडेलले किराना व्यवसायीका समस्याबारे सहकार्य गरेर काम गर्ने प्रतिवद्वता जनाए । संघका सल्लाहकार कृष्णप्रसाद भुसालले दर्ता नगरेका ब्यवसायीले थोरै मूल्यमा बिक्री गर्ने र त्यस्ता पसलमा अनुगमन नगर्दा खुद्रा किराना ब्यवसायीले समस्या भोग्नु परेको गुनासो गरे ।
संघका पूर्व अध्यक्ष कमला गौतमले हाटबजारमा ताजा तरकारी तथा फलफुल मात्रै बिक्रि बितरण गर्नुपर्ने भएपनि त्यो नभइ किरानाका सामाग्रीसमेत राख्दा किराना व्यवसायी मारमा परेको बताइन ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका जगदिश नेपाल, नेकपा एमाले बुटवल अध्यक्ष किशन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका उपाध्यक्ष बिमलराज भट्टराई, रुपन्देही ब्यापार संघका कोषाध्यक्ष मणि खनाल, नेपाल बजार बिक्री प्रतिनिधि संघ लुम्बिनीका कृष्ण भुसाल,लुम्बिनी डेरी ब्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्मा, खुद्रा किराना ब्यवसायी संघका पूर्व अध्यक्ष केशब कुंवर, उपाध्यक्ष राधा आचार्य भुसाल, महासचिव गोपाल प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए ।

सोही अवसरमा खुद्रा किराना व्यवसायी संघ रुपन्देही पत्रकार आचार्य प्रदीपलाई नगदसहित सम्मान गरिएको थियो । सञ्चारको क्षेत्रबाट खुद्रा किराना व्यवसायीका समस्या समाजमा उजागार गरेको भन्दै पत्रकार आचार्य प्रदीपलाई सम्मान गरिएको हो ।त्यस्तै संघका उत्कृष्ट सदस्य तथा एसईई र प्लस टु उत्तीर्ण गरेका सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ ।

संघका अध्यक्ष मोहनप्रसाद बस्यालको अध्यक्षता र महासचिव गोपाल प्रधानको सञ्चालनमा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव दधिराम ज्ञवाली, कोषाध्यक्ष टिकाराम शर्मा पौडेलले कोषाध्यक्षको प्रतिबेदन र लेखा समिती संयोजक विकासराज पौडेलको लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।