मकै पोल्ने र सालको पात बेच्ने महिला सम्मानित

बुटवल, चैत २ गते । बुटवलका सडकमा मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई सम्मान गरिएको छ । सडकलाई कर्मथलो बनाई मकै पोल्ने र सालको पात बेचीे जीविका निर्वाह गर्दै आएका ३७ जना महिलालाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाले मकै पोल्ने र सालको पात बेच्ने ३७ जना महिलालाई उपकरण खरिद तथा क्षमता विकासका लागि ५ हजारका दरले नगदसमेत सहयोग गरेको हो । कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल र प्रवक्ता शिव रानाले ३७ जना महिलालाई सम्मानसहित रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख खेलराज पाण्डेयले परम्परागत पेशा र व्यवसाय अंगालेका महिलाहरुलाई प्रोत्साहनका लागि सहयोग गरिएको बताए ।
नगरले दिएको रकमले आफ्नो पेशा व्यवसायलाई थप स्तरीय बनाउन आग्रह गर्दै नगर प्रमुख पाण्डेयले भने – बुटवललाई देशमै उत्कृष्ट सहर बनाउने योजनाका साथ नीति कार्यक्रम र बजेट कार्यान्वयनमा ल्याएका छौ ।

नगरबासीको साथले मात्रै बुटवललाई समृद्ध बनाउन सकिने बताउंदै सबै क्षेत्रसंग सहकार्य र एकता गरेर सबै प्रकारका काम गर्ने बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले सहयोगको राशी सानो भएपनि श्रम गरेर जीवन निर्वाह गर्ने महिलाहरुलाई हौसहला मिल्ने बताइन ।उनले काम सानो ठुलो नहुंने बताउंदै आर्किक अवस्था कमजोर भएका महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी सहयोग गरिने प्रतिद्वता जनाइन ।