खुल्ला सीमा र चर्को भन्सार शुल्क बाधक – अटो व्यवसायी

श्यामलाल पोखरेल

बुटवल, चैत ३ गते । बैंकको चर्को व्याज, खुल्ला सीमा र चर्को भन्सार शुल्कले अटो व्यवसायी विस्थापितको अवस्थामा पुगेको रुपन्देहीका अटो व्यवसायीले बताएका छन् । सीमा नाका खुल्ला हुंदा राज्यलाई कर तिरी बैधानिक रुपमा व्यवसाय गर्ने अटो व्यवसायी मारमा परेको उनीहरुको गुनासो छ ।

आयतित समानमा चर्को भन्सार शुल्क उठाएर राज्य सञ्चालन हुंदा नीजि क्षेत्रका व्यवसायी अन्यायमा परेको बताए । बुटवल अटो इन्जिनियरीङ एशोसिएशन रुपन्देहीको शनिबार सम्पन्न २८ औं वार्षिक साधारण सभामा बोल्ने अटो व्यवसायीले राज्यको गलत नीतिले नेपालमा अटो व्यवसाय फस्टाउन नसकेको बताए । खुल्ला सीमानाबाट अबैध सामाग्री आयतमा तत्काल रोक लगाउनु पर्ने अटो व्यवसायीको माग छ ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अटो व्यवसाय बुटवल उपमहानगरपालिकाको मातहतमा चल्नुपर्ने बताए । लालपूर्जा पाउने विषयसंग अटो व्यवसायलाई नजोड्न आग्रह गर्दै अटो भिलेजलाई व्यवस्थित गर्न सहयोग गर्ने नगर प्रमुख पाण्डेयले प्रतिवद्वता जनाएका छन् । उनले अटो व्यवसायी र यातायात व्यवसायीका कारण बुटवलको विकास भएको उल्लेख गर्दै अटो व्यवसायी र यातायात व्यवसायी एक ठाउंमा हुनुपर्ने बताए । बुटवल अटो व्यवसायी र यातायात व्यवसायीको संगमस्थल हो उनले भने ।

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेले एक शहर एक अटो लेन अनुसार काम गर्न खोज्दा राजनीति बाधक बनेको बताए । अटो व्यवसायलाई व्यवस्थित गर्न तीनै तहका सरकारले लगानीसहित सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । अध्यक्ष गैरेले हचुवाको भरमा गाडी नभित्राउन उनले सरकारलाई आग्रह गरेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र वस्नेतले राजनीतिक दलहरुले काम भन्दा भाषण ठूला गर्दा अटो लगायत हरेक क्षेत्र कमजोर बन्दै गएको बताए ।
बुटवल अटो इन्जिनियरीङ एशोसिएशन रुपन्देही अध्यक्ष तुल्सीराम न्यौपानेले अटो भिलेज व्यवस्थित गर्न समयको माग अनुसार नीति ल्याउन राज्यसंग माग गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जीसी, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, नेपाली कांग्रेस बुटवलका उपसभापति ज्योती भण्डारी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, बुटवल अटो इन्जिनियरीङ एशोसिएशनका पूर्व अध्यक्ष प्रेमबहादुर फौजा, अटो इन्जिनियरीङ एशोसिएशन चितवनका अध्यक्ष रामप्रसँ तिमिल्सेना, अटो व्यवसायी राधाकृष्ण देउजा, इन्जिनियर शिशिर जीसी लगायतले बोल्दै अटो भिलेज र यातायात क्षेत्र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

एशोसिएशनका अध्यक्ष तुल्सीराम न्यौपानेको अध्यक्षता र महासचिव धुर्वराज भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो । साधारण सभाको अवसरमा एशोसिएशनका पूर्व अध्यक्ष तथा बुटवलका पुराना अटो व्यवसायी व्यवसायी केवलप्रसाद यादवलगायत केही अटो व्यवसायी र एशोसिएशनका कर्मचारीलाई सम्मान गरिएको थियो ।