महरा पक्राउ परेपछि माओवादीमा खैलाबैला

बुटवल, चैत ५ गते । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी नेता महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले कपिलवस्तुबाट पक्राउ गरेको हो । पक्राउ परेका महरालाई भैरहवाबाट जहाजमा काठमाडौं लगिएको छ ।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलिले काठटमाण्डौ लगेको हो । अब सरकारी वकिलको कार्यालय हुँदै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ । केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराको संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । गत शुक्रबार मन्त्रिपरिषद् बैठकले जांचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तथा तस्करी नियन्त्रणसम्बन्धी जांचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुंवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए ।

मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष महरासहित प्रतिवेदनले औल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीसमेतलाई आयोगले दोषी देखाएको छ ।

इलेक्ट्रिक सिगरेटमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका छन् । माओवादीका प्रभावशाली नेता मानिने कृष्णबहादुर महारा पक्राउ परेपछि अहिले माओवादी केन्द्रमा खैलाबैला भएको छ ।