सम्झनामा शोविशन, किरण

बुटवल, चैत २१ गते । शोविशन, किरण स्मृति फाउण्डेशनले बुटवल नयांगाउंकोे धार्किस्थल मुक्तिनाथ धामलाई खाद्यान्न प्रदान गरेको छ । शोविशन, किरण स्मृति फाउण्डेशनले स्व. शोविशन र किरण पाण्डेयको नवौ स्मृतिमा दाल, चामल, तेललगायतका दैनिक उपभोग्य वस्तु दिएको हो ।

बुधबार मुक्तिनाथ धाममा शोविशन किरणको नवौ स्मृति सभाको आयोजना गरी खाद्यान्न हस्तान्त्रण गरिएको हो । फाउण्डेशनले शोविशन, किरणको स्मृतिमा वार्षिक रुपमा गरिव, विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएको छ ।
२०७२ चैत्र २० र २१ गते अल्पआयुमै मृत्यवरण गरेका स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा फाउण्डेशनले रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । रुपन्देहीका हास्यव्यङ्के कलाकार विष्णु जी पाण्डे माईला बा का दुवैछोरा शोविशन र किरणको एक दिनको फरकमा उपचारको क्रममा मृत्यु भएको थियो । तातो दुधमा परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । त्यस्तै ज्वरो र पखलाको अवस्थामा उपचारकै क्रममा शोविशनका भाई किरणको एक दिनको फरकमा चैत २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा उपचारको क्रममा निधन भएको थियो ।

शोविशन पाण्डे दुई वर्षका थिए भने किरण पाण्डे सात महिनाका थिए । सबैको मन छुने अकल्पनीय घटना घटेपछि कलाकार र पत्रकारहरुको सक्रियतामा कलाकार धनबहादुर गुरुङ अध्यक्ष रहेको शोविशन, किरण फाण्डेशन गठन गरिएको थियो ।
बुधबार आयोजित नवौ स्मृति सभामा बोल्दै मुक्तिनाथ धाम बुटवलका स्वामी लोकानन्दले अनाज दान महादान भएको बताउंदै धार्मिक र मानवीय सेवाले मानिसलाई मुक्ति मिल्ने बताए ।
शोविशन, किरण स्मृति फाउण्डेशनका संरक्षक विष्णु पाण्डेले गरिब तथा निमुखा र असहायको क्षेत्रमा काम गर्ने गरी फाउण्डेशनलाई अगाडी बनाउनु पर्नेमा जोड दिंदै बाबुहरुप्रति श्रदाञ्जली अर्पण गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष गंगादक्त पौडेल, मुक्तिनाथ धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम महत, शोविशन, किरण स्मृति फाउण्डेशनका सल्लाहाकार टंकप्रसाद गैरे, डिल्लीनारायण पाण्डेय, दीपक कार्की, नारायण थापा, वालाराम भट्टराई, पत्रकार श्यामलाल पोखरेल, कलाकार सीता राना लगायतले नावालक स्व. शोविशन र किरण पाण्डेप्रति श्रदाञ्जली अर्पण गरेका थिए ।
फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता र सचिव रुकु पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।