भलाई कोषमा अक्षयकोष स्थापना

बुटवल, बैशाख १ गते । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सवको अवसरमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । कोषले शनिबार ५ लाख १ हजार १११ रुपैयांको गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको कार्यविधि निर्माण गरी यातायात मजदूरका छोराछोरीलाई उपलव्ध गराउने लक्ष्य राखिएको छ । छात्रवृत्ति अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै कोषका पूर्व अध्यक्ष एवं सल्लाहकार कुमार थापाले कोषले यातायात व्यवसायी तथा मजदूरको पक्षमा काम गर्दै आएको बताए । उनले २०५३–५४ सालमा आफूले कोषको नेतृत्व गर्दा चलचित्रको च्यारिटी शो बापतको ७८ हजार रकममा कोषले २२ हजार थपेर छात्रवृत्ति अक्षयकोष स्थापना गरेको स्मरण गर्दै त्यसको छुट्टै कार्यविधि बनाएर सञ्चालन नहुंदा कार्यान्वयनमा आउन नसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको आफ्नो सामाजिक दायित्व रहेकाले छात्रवृत्ति स्थापना गरी स्वर्ण महोत्सवलाई थप रचनात्मक बनाईएको बताए । स्वर्ण महोत्सवका अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गरिएको भन्दै कोषका गतिविधिबारे अध्यक्ष फुल्लेलले प्रकाश पारेका थिए ।

कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योगबहादुर गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, सल्लाहकार कृष्णप्रसाद बेलबासे, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, कार्यालय प्रमुख ठानेश्वर बस्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।