आगो निभाउंदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी, बैशाख ३ गते । हावाहुरी र सुख्खायाम शुरु भएसंगै दैनिक जसो आगलागीका घटना घट्न थालेका छन् । हावाहुरी र सुख्खायामका कारण तराई, पहाडमा आगालागीका घटना बढेका छन् ।
समोमबार गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।
आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्योदय माध्यमिक विद्यालयको जग्गा रहेको जंगलमा आगो निभाउनका लागि घर्ती आइतबार बिहानको समयमा जंगलमा गएको गाउंका प्रत्यक्ष दर्शीले बताएका छन् ।

तलबाट आएको आगोको मुस्लोमा परी घर्ती करिब डेढ सय मिटर तल खसेको स्थानीयले बताएका छन् । सोही ठाउंमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते छन् ।
घाइते थापाको टाउको र निधारमा चोटलागेको छ । थापाको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । आगो भने अहिले पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।