झिमरुकमा आगोलागी हुंदा घरगोठ जलेर नष्ट

     प्यूठान, बैशाख ८ गते । प्यूठानको झिमरुक गाउंपालिका वडा नम्बर ३ को केही वस्तीमा आगोलागी भएको छ । जंगलमा लागेको आगो तथा डढेलो वस्तीमा सल्किदा घरगोठ जलेर नष्ट भएका छन् । डढेलोबाट धनमुडामा एक घर र २ वटा गोठसहित बाख्राका खोरहरु जलेर नष्ट भएका छन् ।

डढेलो गाउंमा सल्किँदा झिमरुक गाउंपालिका– ३ वेओरमा २ वटा गोठ र भेडावारीमा एउटा गोठ जलेर नष्ट भएको पूर्व स्थानीय जनप्रतिनिधि नवराज केसीले बताउनुभयो । शुक्रबार दिउंसो जंगलमा लागेको आगो बस्तीमा पस्दा स्थानीय गिरु पौडेल, भीम पौडेल र बसन्त पौडेलको घरगोठ जलेर नष्ट भएका छन् । घरगोठका साथै भैसी र बाख्रासमेत जलेर मरेका छन् । त्यस्तै घर जलेपछि घरमा भएको अन्नपात पनि सबै नष्ट भएको छ ।

जंगलको आगो बस्तीमा पस्दा स्थानीय श्यामलाल पौडेलको घरमा क्षती भएको छ, भने गाइभैसीको गोठसहित बाख्राको गोठसमेत जलेर नष्ट भएका छन् ।यस्तै, झिमरुक गाउँपालिका–३ बेओरेका बाबुराम पोखरेल र श्रीराम पोखरेलको गोठ गोठ पनि जलेर नष्ट भएका छन् ।

स्थानीय नारीकोट जंगलबाट लागेको आगो अमिलाचौर, बेहोरेको जंगल हुंदै गाउंमा पसेको थियो । आगलागिमा परी झिमरुक गाउँपालिका–३ भेडाबारीका मनबहादुर खत्रीको गोठ जलेर नष्ट भएको छ भने जंगलको आगो बस्तीमा पस्दा गोठ जलेको र गोठमा रहेको ३ वटा बोका मरेका छन् । यस्तै आगोलागी तथा डढेलोबाट घरवास जलेर नष्ट भएपछि पीडित परिवारहरु अहिले बिचल्लीमा परेका छन् ।

झिमिरुक गाउंपालिकाले तत्कालका लागि पूर्णक्षती भएकालाइृ रु २० हजार र आंसिक क्षती भएकालाई रु १० हजार त्तकाल उपलब्ध गराउने गाउंपालिकाका अध्यष पितबहादुर एम्सीले बताए ।

झिमरुक गाउंपालिका वडा नम्बर ३ का वनहरुमा लागेको आगो अझै नियन्त्रणमा नआएको स्थानीय मोहन बरालीले जानकारी गराउनुभयो । आगो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि, स्थानीय जनता, प्रहरी प्रशासनले पहल गरिरहेपनि नियन्त्रण हुन सकेको छैन ।

आगोलागीबाट मानवीय क्षती नभएपनि लाखौ रुपैयांको भौतिक क्षती भएको स्थानीयले बताएका छन् ।