गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित

बुटवल, बैशाख १६ गते । केही दिन यतादेखि लुम्बिनी प्रदेशको तराई क्षेत्रमा गर्मी बढेको छ । तातो हावासंगै गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । लुम्बिनीको रुपन्देही, कपिलवस्तु, पश्चिमनवलपरासी, दाङ, बांके, बर्दियामा अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको हो ।

तातो हावासंगै लु चल्दा रुपन्देहीको जनजीवन अन्य जिल्लामा भन्दा बढी प्रभावित भएको छ । बैशाखको पहिलो सातायता रुपन्देहीमा तातो हावासहितको लु निरन्तर चलिरहेको छ । यसबाट नागरिक अत्तालिएका छन् । सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर प्रभावित छन् । लु का कारण अस्पतालहरुमा विरामीको चापसमेत बढीरहेको छ भने हावाहुरीले आगलागीबाट करोडौंको क्षति भएको छ ।

बैशाख लागेयता तापक्रम बढ्दै जाँदा रुपन्देहीको जनजीवन निकै प्रभावित भएको हो । हावाहुरीले ठाउँठाउँमा आगलागीका घटनासमेत भइरहेका छन् । यसबाट करोडौंको धनमाल नष्ट भएको छ । गर्मी बढ्दै जाँदा सडकहरु सुनसान हुँदै गएका छन्, भने अस्पतालमा बिरामीको चाप बढेको छ । यस वर्ष बैशाखमै भैरहवाको अधिकतम तापमान करिब ४४ डिग्री पुगेको छ । प्रचण्ड गर्मीले घरमै बसेका आममानिस उकुसमुकुस भएका छन् । बिहानैदेखि चल्ने हावाहुरीसहितको तातो हावाका कारण ब्यापार ब्यवसायसमेत प्रभावित भएको छ, भने सर्वसाधरणलाई दैनिकी गुर्जान कठिनाई भइरहेको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्दा सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मीसँगै दैनिक चल्ने हावाहुरीले जिल्लामा आगलागीबाट ठूलो क्षति भएको छ । जिल्ला प्रशासनका अनुसार आगलागीबाट रुपन्देहीमा १ सय ५८ घरमा क्षति पुगेको छ । त्यसमध्ये ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यसबाट ६ करोड ५० लाख बराबरको घर, अन्नबाली, चौपाय नष्ट भएका छन् । चिकित्सकहरुका अनुसार खासगरी बालबालिका र बृद्धबृद्धामा मुख सुक्ने, पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या देखिएका छन् । अस्पतालहरुमा विरामीको चाप अत्यधिक बृद्धि भएको छ ।

बिगतमा भन्दा यस वर्ष चाँडै गर्मी बढेको हो । गर्मीले जुस, फलफूल, आइसक्रिम लगायतको ब्यापारमा बृद्धिभए पनि अन्य ब्यापार ब्यवसाय र सर्वसाधरणसँगै चौपाया र जीवजन्तु प्रभावित भएका छन् । चिकित्सकहरुले दिउँसोको समयमा अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन र गर्मीसँगै ‘लु’ चलिरहेकाले पानी र झोलिलो पेयपदार्थ प्रशस्त पिउन चिकित्सकहरुले सुझाव दिएका छन् ।