आगो लगाएको आरोपमा प्यूठानमा ४ जना पक्राउ

प्यूठान, बैशाख १७ गते । आगलागीमा संलग्न भएको आरोपमा प्यूठानमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार आगलागीमा संलग्न ३ जनालाई पक्राउ गरी जिल्ला अदालत प्यूठानमा दर्ता गरिएको छ । अन्य १ जनालाई अनुसनधानका लागि हिरासतमा पठाईएको छ ।

सरुमारानी गाउंपालिकाबाट १ जना, प्यूठान नगरपालिकाबाट १ जना, ऐरावती गाउंपालिकाबाट १ जानलाई पक्राउ गरी मुद्वा चलान गरिएको वन कार्यालय प्यूठानका सहायक वन अधिकृत हरि पौडेलले बताएका छन् । यस्तै प्यूठान नगरपालिका १० बाट १ जनालाई पक्राउ गरी अनुसन्धान गर्न थालिएको छ ।

वन कार्यालयका अनुसार पछिल्ला केही दिनयता प्यूठानमा १० हजार हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । प्यूठानका ७९ सामूदायिक वनमा आगलागी भएको छ । एउटा सामूदायिक वनले आगलागी गरेको भन्दै १ जनालाई ३५ हजार जरिबाना समेत गराएको छ ।

आगलागीको सुराकी दिने व्यक्तिको नाम गोप्य राखी उचित पुरस्कार दिने वन कार्यालयले व्यवस्था गरेको छ । आगलागी हुन नदिनका लागि विभिन्न स्थानमा सुराकी परिचालन, प्रचार– प्रसार, पालिकास्तरमा आगलागी सम्बन्धी सचेतानमूलक अन्तरक्रियाहरु गरिएको सहायक वन अधिकृत हरि पौडेलले बताए ।

चैत यता बैशाख १६ गतेसम्म प्यूठानमा ९५ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले बताएको छ । आगलागीबाट ९५ घर, ५० गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट ७९ पशुचौपायांको जलेर मृत्यु भएको छ ।

१ सय ११ वटा पशुचौपायां जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख तथा डिएसपी ईश्वर थापाले बताउनुभयो । आगलागीका घटना बढेपछि वन कार्यालय, स्थानीय तहहरु र प्रहरी प्रशासनबाट निगरानी बढाईएको छ । जिल्लामा आगलागीका घटनाबाट पीडित भएकाहरुलले राहतको माग गरेका छन् ।