निर्माण व्यवसायीका समस्या समाधानप्रति सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घसँगको छलफलका क्रममा उनले निर्माण व्यवसायीहरूका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले सरकारले निर्माण व्यवसायीहरुको हितमा गरेका कामहरु आउने दिनमा पुष्टि हुने उल्लेख गरे । कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरुले भोग्नुपरेका नीतिगत, ऐन, कानून र नियमावलीरुका अप्ठ्याराहरु चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान सरकार निर्माण व्यवसायीहरुका जायज मागहरु समाधान गर्ने पक्षमा रहेको बताए । उनले जतिसक्दो चाँडो समस्या समाधान गर्न पहल भइरहेको बताए । उनले निर्माण व्यवसायीहरुको निर्माणका लागि भुक्तानी सहज होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरुलाई संशोधन गरेर पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, निर्माण व्यवसायीहरुले काम गर्दै गर्दा देखिएका समस्या र अप्ठ्याराहरु सरकारलाई पुनः जानकारी गराए । निर्माण व्यवसायीहरुले जुन खालका अप्ठ्याराहरु भोग्नुभएको छ । जसमा नीतिगत ऐन कानूनहरु, अव्यवहारिक भएका नियमावलीहरुका विषयमा सरकारलाई जानकारी दिनुभएको छ । जसमा निर्माण व्यवसायीहरुका जायज मागहरु छन् । त्यसलाई नेपाल सरकारले समाधान गर्ने पक्षमा छ । जतिसक्दो चाँडो समस्या समाधान गर्न कसरी सकिन्छ । त्यसमा सरकारले विशेष ध्यान दिएर काम गरिरहेका छौं ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माणको भुक्तानी व्यवसायीहरुलाई भन्दा बढी पेचिलो सरकारलाई भएकाले दशैँअघि नै भुक्तानी दिने अर्थ मन्त्रालयको तयारी रहेको बताए । उनले अर्थ मन्त्रालयको दशैँअघि भुक्तानी सक्ने तयारी अनुरुप शहरी विकास अन्तर्गतका आयोजनाहरुको विवरण दिएको पनि बताए । उनले शहरी विकास मन्त्रालय अन्तर्गतको गत आर्थिक वर्षको भुक्तानी दिनुपर्ने ५६ करोड भुक्तानीको स्रोत समेत पहिचान गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख गरे ।






















