दुर्घटना न्यूनीकरणका लागि विशेष योजना बनाउनु पर्छ–मुख्यमन्त्री


बुटवल, असार ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री आचार्यले न्यूनीकरणका लागि विशेष योजना बनाउनुपर्नेमा जोड दिए ।

बिहिवार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी उद्घाटन कायृक्रममा बोल्दै मानवीय त्रुटि, लापरबाही र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना बढिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनिकरणकालागि बिशेष योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।
सडक सुरक्षा र सुरक्षित यात्रालाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको दावी गदैृ मुख्यमन्त्री आचार्यले भने सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, ट्राफिक व्यवस्थापनमा सुधार, सडक पूर्वाधारको स्तरोन्नति गर्नुपर्छ । मुख्यमन्त्री आचार्यले सुरक्षित सडक र सुरक्षित यात्राको वातावरण निर्माण गर्न सबै पक्षको साझा प्रयास आवश्यक छ भने ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीको अध्यक्षता भएको कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे समीक्षा तथा छलफल भएको थियो ।

बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आयोजित गोष्ठीमा प्रदेश प्रहरी कार्यालय, ट्राफिक प्रहरी, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागिता थियो ।























