बढ्दो गर्मीमा कृष्णनगरका एक व्यापारीले यसरी मेट्दैछन् बटुवाको तिर्खा

कृष्णनगर । दिनप्रतिदिन बढ्दो गर्मी र तातो हावा (लू) ले जनजीवन कष्टकर बनिरहेको बेला कपिलवस्तुको सीमावर्ती सहर कृष्णनगरमा एक उदाहरणीय मानवीय कार्य सुरु भएको छ । चर्को घाम र तातो ‘लू’ ले जनजीवन कष्टकर बनिरहेको बेला कपिलवस्तुको कृष्णनगरमा मानवताको एउटा अनुपम उदाहरण प्रस्तुत गरिएको हो । व्यापारी तथा समाजसेवी अभिमन्यु जयसवालले कृष्णनगर बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणको तिर्खा मेटाउन आफ्नै खर्चमा निःशुल्क चिसो पानीको व्यवस्था मिलाएका छन् ।

कृष्णनगर विशेषगरी नेपाल र भारत ओहोरदोहोर गर्ने मुख्य नाकामध्ये एक भएकाले यहाँ दैनिक हजारौं सर्वसाधारण, पैदलयात्री, मजदुर र यात्रुहरुको आवतजावत हुन्छ । पछिल्लो समय तराई क्षेत्रमा बढेको चर्को घाम र अध्याधिक तापक्रमका कारण बटुवाहरुको घाँटी सुक्ने र टाउको दुख्ने जस्ता समस्या देखिने गरेको छ । यस्तो विकराल अवस्थामा सडक छेउमा हिँडिरहेका बटुवाहरुले पैसा तिरेर पानी किन्न नसक्ने वा खोज्दै हिँड्नुपर्ने बाध्यतालाई व्यापारी जयसवालले गर्मीमा एक शीतलको छहारी बनाएका छन् ।

आफ्नो व्यापार व्यवसायमा व्यस्त रहने भए पनि जयसवालले समाजप्रति आफ्नो पनि केही दायित्व हुन्छ भन्ने भावनालाई आत्मसात् गरेका छन् । मानिसहरु तिर्खाएर पानी किन्न नसक्ने वा बजारका महँगा पसलहरु खोज्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । सेवा गर्न धन होइन, विशाल मन चाहिन्छ भन्ने उक्तिलाई उनले व्यवहारमै चरितार्थ गरेर देखाएका छन् ।

व्यापारी अभिमन्यु जयसवाल भन्छन्, व्यापार त जीवन धान्नका लागि गरिन्छ तर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मानिसहरु गर्मीले छटपटिँदै सडकमा हिँडिरहेको देख्दा मनमा भावना जाग्यो र चिसो पानी खुवाएर तिर्खा मेटाइदिनु नै सबैभन्दा ठूलो धर्म र पुण्यको काम हो भनेर लागेको हुँ । जयसवालको यो निस्वार्थ सेवाभावले कृष्णनगरका स्थानीयवासीहरुमाझ निकै चर्चा पाएको छ । सामाजिक सञ्जालदेखि चोक चौतारासम्म उनको यो मानवीय कार्यको प्रशंसा भइरहेको छ ।