दशगजा “सुस्ता” जोड्ने झोलुंगे पुलको राष्ट्रपति रामचन्द्र पौडेलद्धारा उद्घाटन, सीमा अतिक्रमणमा छैन् चासो

बुटवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित सुस्ता गाउँपालिका–५ मा रहेको नारायणी नदीमा निर्माण भएको त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुंगे पुलको बिहीबार राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

नारायणी नदीमा बनेको झोलुंगे पुलको उद्घाटन गर्नुको साथै सुस्ता क्षेत्रको एकिकृत राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत आपुर्ति आयोजनाको समेत सुभारम्भ गरिएको छ । नेपाल सरकार, शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आयोजनामा पुल उद्घाटन र विद्युत आपुर्तिको काम एकैसाथ भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्तामा निर्माण भएको झोलुंगे पुलको अवलोकन गरेका छन् । कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर लगायत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

झोलुंगे पुलले सुस्ता गाउँपालिका–५ को सकरदिनही र सोही वडा पर्ने तर नदि पारी रहेको सुस्ता गाउँलाई जोड्ने भएको छ । सुस्ता क्षेत्रमा तीन सय ५० घरधुरी बस्दै आएका छन्, तर त्यहाँ स्वास्थ्य, खानेपानी, सिंचाइ, विद्युत र शिक्षाका लागि त्यहाँका स्थानीयहरुले विगतदेखि नै सास्ती खेप्दै आउनु परेको छ । यसअघि पुल नहुँदा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो ।

डुंगा दुर्घटना हुँदा मानवीय क्षती समेत व्यहोर्नु परेको थियो । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुल भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको निर्माण भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैयसवालले जनाएका छन् । अहिले पुल बनेपछि सुस्तापारी उत्पादन हुने कृषिजन्य उखु र केरालाई बजारसम्म ल्याउन सहज हुने भएको सुस्ता ५ वडासदस्य आदम सुहेनले बताए ।

नेपाली भूमि बचाएर बसेका अधिकांश नागरिकहरुको नागरिकता छैन् । नेपाल भारत सीमा विवाद र नेपाली भूमि अतिक्रमण समस्या हल हुन सकेको छैन् । नेपाली भूमि छुट्याउने सीमा स्तम्भ समेत नभएको सुस्तामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युत लगायत समस्या ज्यूँ को त्यूँ रहेको छ । उक्त समस्याप्रति सरकारको ध्यान पुग्न नसकेको स्थानीय लैला बेगमको गुनासो छ ।