दशैँकै मुखमा बढ्यो हवाई भाडा


काठमाडौं । बहुसंख्यक नेपालीले मनाउने सबैभन्दा ठूलो चाड दशैँ सुरु हुन तिथिका हिसाबले अब एक सातामात्रै बाँकी छ । कामविशेषले अन्यत्र रहेकाहरु असोज १७ गते घटस्थापनासँगै दशैँ मनाउन घर फर्कने हतारोमा हुन्छन् । दशैँमा देशभर कम्तिमा ८० लाख मानिसले आवतजावत गर्ने यातायात व्यवसायीहरु बताउँछन् । काठमाडौंबाट मात्रै सार्वजनिक यातायात चढेर १० लाख मानिस दशैँ मनाउन गाउँघर फर्कने अनुमान छ ।

चाड मनाउन अधिकांश नागरिक सडकमार्ग हुँदै घर–शहर ओहरदोहर गर्छन् । तर, बढ्दो मध्यमवर्ग र सडक यातायातमा भोग्नुपर्ने सास्तीका कारण दशैँका बेला घर फर्कन हवाईमार्ग रोज्ने यात्रुको संख्या एक लाख हाराहारी पुगिसकेको छ । हवाई कम्पनीहरुले दशैँको मुखमा टिकटको भाडा बढाउनेदेखि पछि आफ्नो समय अनुकूलको टिकट नपाउने डरले मानिसहरूले अघिदेखि नै टिकट बुकिङ गर्ने गर्छन् । आन्तरिक वायुसेवा कम्पनीहरुलाई यतिखेर दशैँलक्षित हवाई टिकट बेच्न भ्याइनभ्याइ छ । यात्रुहरुले पनि टिकट धमाधम लिइरहेका छन् । ८० प्रतिशतभन्दा बढी टिकट बुक भइसकेको कम्पनीहरुले दाबी गरेका छन् ।
तर, सडकमा गुड्ने सार्वजनिक यातायातमा चाडबाडका बेला भाडामा जस्तो बेथिति देखिन्छ । टिकटको मूल्यका हिसाबले हवाई यातायातमा पनि उस्तै अवस्था छ । अन्य समयको तुलनामा यतिबेला हवाई टिकटको मूल्य दोब्बरसम्म बढेको छ ।

नेपालमा आन्तरिक उडानतर्फ केही दुर्गम गन्तव्यमा नेपाल एयरलाइन्सका विमानले सेवा प्रदान गरिरहेका छन् । अधिकांश सुगम गन्तव्यमा निजी क्षेत्रका वायुसेवा कम्पनीहरु बुद्ध, यति, श्री लगायतले व्यवसायिक उडान भर्ने गरेका छन् । केही हेलिकोप्टर कम्पनीहरुले पनि बुकिङको आधारमा यात्रुहरुलाई गन्तव्यमा पुर्याउने गर्छन् ।
अहिले नेपालमा दैनिक उडान सङ्ख्या १७० हाराहारीमा हुनेगरेको छ । त्यसमा पनि सबैभन्दा बढी आन्तरिक उडान देशका मुख्य शहरमा हुने गर्छ । मुख्यगरी काठमाडौंदेखि धनगढी, भैरहवा, सिमरा, सुर्खेत, नेपालगञ्ज, विराटनगर, भद्रपुर, पोखरा, जनकपुर र भरतपुरजस्ता शहरहरूमा अन्य गन्तव्यमा भन्दा बढी उडान हुने गर्छ ।
अहिले नेपालको आन्तरिक उडानतर्फको करिब ८० प्रतिशत टिकट बुकिङ भइसकेको बुद्ध यति र श्री एयरलाइन्सले जनाएका छन् । आन्तरिक उडानमा सबैभन्दा धेरै विमान बुद्ध एयरसँग छ । सो कम्पनीसँग हाल १८ वटा विमान छन् । जसमा २ वटा ४७ सिटका क्षमता भएका र अन्य ७२ सिट क्षमताका छन् ।
यस्तै, श्री एयलाइन्सका ८ वटा र यतिका ८ वटा विमानहरु सञ्चालनमा छन् । अन्य कम्पनीले पनि केही संख्याका विमानमार्फत आन्तरिक गन्तव्यमा उडान भर्ने गरेका छन् ।
दशैँको पूर्वसन्ध्यामा साविकभन्दा बढी मूल्य तिरेर यात्रुहरुले हवाई टिकट खरिद गरिरहेका छन् । तर, कम्पनीहरु भन्छन्– हवाई उडानमा दशैँ विशेष टिकट बुकिङ भन्ने नै हुँदैन । दशैँमा हवाई भाडा वृद्धि गर्ने भन्ने पनि हुँदैन । तर, दशैँका बेला हवाई भाडा ह्वात्तै बढ्दा यात्रुहरुलाई आर्थिक भार स्वतः बढिरहेको छ ।
किन बढ्छ दशैँमा हवाई भाडा ?
दशैँ सुरु हुन एक महिना अघिदेखि नै हवाई भाडा दोब्बर भइसकेको थियो । के कम्पनीहरुले दशैँको बेलामा आफूखुसी भाडा बढाएकै हुन त ? वायुसेवा कम्पनीहरुले भाडा नबढाएको दाबी गरेका छन् । नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले पनि वायुसेवा कम्पनीहरुले दशैँको बेला हवाई भाडा नबढाएको बताएको छ ।






















