सवारी दुर्घटनाप्रति सरोकारवालाको चिन्ता

बुटवल, असोज १२ गते । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि राज्य बढी जिम्मेवार हुनुपर्ने सरोकारवालाले बताएका छन् । राज्य अभिभावक भएकाले राज्य बढी जिम्मेवार बन्नुपर्ने र राज्यलाई सहयोग गर्नुपर्ने उनीहरुको भनाइ छ ।

जनचेतनाको कमी, सवारी चालकको लापरबहाही, कमजोर खालका सडक, पुराना सवारी सधान, नयां सवारी सधानको संख्या बढीलगायत विभिन्न कारण सडक दुर्घटना हुने गरेपनि राज्यपक्ष बढी जिम्मेवार हुनुपर्ने उनीहरुको भनाइ छ ।
सुरक्षा यात्रा नेपालको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रमुख तथा अध्यक्षहरुले सवारी दुर्घटना न्यूनीकरण हुन नसकेकोप्रति चिन्ता गर्दै सबैको सहकार्य र एकता आवश्यक पर्ने उनीहरुले बताए ।बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमदेखि राज्यका नियम कानुन कार्यान्वयन हुन नहुंदा पनि दुर्घटना हुने गरेको उनीहरुको तर्क छ ।

पहाडी जिल्लाबाट अध्ययनका लागि बुटवलमा झरेका कम उमेरका विद्यार्थीले चलाएका मोटरसाईकल र स्कुटी दुर्घटना हुने गरेकाले स्कुलदेखि क्याम्पसमा सुरक्षित यात्राका लागि जनचेतनाको विषयमा अध्यापन गराउनु पर्ने सरोकारवालाहरुले बताए ।

सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सरोकारवाला पक्षसंग सहकार्य गरेर दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्ने बताए । सुरक्षित यात्राका लागि हरेक संघसस्थाहरुले दुर्घटना न्यूनीकरणका लागि बजेट छुट्टाएर काम गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कुबेर कठायतले सवारी दुर्घटना न्यूकरणका लागि समाजका सबै पक्ष गम्भीर र जिम्मेवार हुनुपर्ने बताए ।
सुरक्षित गाउं शहर लुम्बिनी प्रदेशको रहर भन्ने नाराका साथ आम जनतालामा सचेतना ल्याएर दुर्घटना न्यूनीकरण अभियानमा लागिएको बताउंदै सवारी दुर्घटना न्यूनीकरणमा आम मानिसलाई आआफ्नो ठाउंमा सचेत बन्न आग्रह गरे ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै पक्षसंग सहकार्य गरेर काम गर्ने बताउंदै दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकका घरपरिवारका सदस्यहरुलाई निःशुल्क शिक्षा र स्वासथ्यको व्यवस्था राज्यले गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाट, महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, पश्चिम नेपाल वस व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे, यातायात मजदुर तथा भलाई कोषका अध्यक्ष दिने फुलेल, यातायात व्यवसायी अमृत अधिकारी, रुमाखर गौतम, विजय खनाल, प्रगतिशील लेखक संघका केन्द्रिय सािव दलबहादुर गुरुङ, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सुरक्षा यात्रा नेपालका दीपक ढकाल, प्रकाश गैरे, ट्राफिक प्रहरी निरिक्षक उमेश अमात्या लगायतले बोल्दै आउंदै गरेका चाडपर्वलाई लक्षित गरी यात्रालाई सुरक्षित र भरपर्दो गराउनु पर्नेमा जोड दिएका छन् । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्वासेको अध्यक्षता र महासचिव प्रकाश नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।