वडावासीको माग अनुसार काम भए – वडाध्यक्ष पंगेनी


बुटवल, जेठ ९ गते । बुटवल उपमहानगरपालिका वडा नं. ८ ले पछिल्लो चार वर्षमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहबारे सार्वजनिक गरेको छ । कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेयता शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, खेलकुद, रोजगार तथा राजश्व संकलनका क्षेत्रमा वडावासीको माग अनुसार काम गरिएको बताए ।

वडाध्यक्ष पंगेनीका अनुसार वडा कार्यालय भवन १० महिनामै निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा सहयोग गरेको भन्दै पूर्व वडाध्यक्ष भीम बहादुर श्रेष्ठ प्रति उनले आभार व्यक्त गरे ।
पूर्वाधार विकासतर्फ जे.वि हरित पार्क निर्माण, विभिन्न टोलमा सडक पिच मर्मत, खुला व्यायामशाला निर्माण तथा सञ्चालन, जनता माध्यमिक विद्यालय परिसरमा ब्लक टायल बिछ्याउने काम सम्पन्न गरिएको उनले जानकारी दिए । साथै सडक बोर्डको सहयोगमा सडक मर्मत तथा मिलनचोकको बाउन्ड्री भत्काएर पुनःनिर्माणसमेत सम्पन्न भएको छ ।

विद्युत व्यवस्थापनतर्फ विभिन्न सडकमा रहेका नाङ्गा तार हटाएर लेमिनेटेड तार जडान गरिएको, १३ वटा ट्रान्सफर्मर थप गरी विद्युत आपूर्ति सुदृढ बनाइएको तथा भानुपथ क्षेत्रमा ‘हाइपावर’ ट्रान्सफर्मर जडान गरिएको वडाध्यक्ष पंगेनीले बताए ।
त्यसैगरी पुराना पोल विस्थापित गरी करिब ५ सय याँ पोल जडान गरिएको, विभिन्न क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन गरिएको तथा सडक बत्तीलाई ‘एकद्वार प्रणाली’ मा ल्याइएको छ भने वडामा हालसम्म तीन वटा हाइमास्ट लाइट जडान गरिएको र अन्य स्थानमा मागका आधारमा विस्तार गरिने वडाध्यक्ष पंगेनीले बताए ।
स्वास्थ्य सेवातर्फ वडा कार्यालयका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलोमै स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन हुँदै आएको जनाइएको छ ।
खानेपानी व्यवस्थापनतर्फ विभिन्न टोलमा झण्डै २० हजार मिटर (२ इन्च र ४ इन्च) पाइप विस्तार गरिएको तथा खानेपानी आपूर्तिमा सुधार भएको र केही क्षेत्रमा अझै समस्या रहेकाले थप योजना माग गरिएको वडा सचिव सुन्दरी आचार्यले जानकारी गराइन ।
शिक्षा क्षेत्रमा जनता माध्यमिक विद्यालयलाई नगरस्तरीय बजेट तथा शिक्षक व्यवस्थापनमा सहयोग गरिएको, संस्थागत विद्यालयमा छात्रवृत्ति दिनुपर्ने विद्यार्थीलाई सिफारिस गरिएको तथा सडक सुरक्षा लक्षित गति सीमित बोर्ड राखिएको बताइएको छ ।
वडाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक मञ्च, बाल क्लब, आमा समूह, एकल महिला समूह तथा सामी कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । खेलकुद क्षेत्रमा विभिन्न क्लब, संघसंस्था तथा विद्यालयलाई प्रोत्साहनस्वरूप बजेट विनियोजन गरिएको र लैङ्गिक समानता तथा समावेशीकरणलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा हालसम्म वडा कार्यालयबाट ३ करोड १६ लाख ५०२ रुपैयाँ २० पैसा राजश्व संकलन गर्न सफल भएको वडाध्यक्ष पंगेनीले बताए । साथै २०७९ सालदेखि हालसम्म १ हजार ३४१ जनालाई नागरिकता सिफारिस गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रविधि तथा सार्वजनिक सेवातर्फ वडाका तीन स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालन गरिएको, राधाकृष्ण मन्दिर तथा गणेश मन्दिरमा निःशुल्क खानेपानीको व्यवस्था गरिएको तथा विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान प्रक्रिया अघि बढाइएको बताइएको छ । साथै विभिन्न सडकमा रोड मार्किङसहित सडक सौन्दर्यीकरणको कामसमेत जारी रहेको वडाध्यक्ष पंगेनीले बताए ।
सोही कार्यक्रममा आमा समुह, एकल महिला सञ्जाल, ज्येष्ठ नागरीक मञ्च, महिला स्वास्थ्य स्वयंसेविका, टोलविकास संस्थाका अध्यक्ष, उत्कृष्ट करदाताहरु लगायतलाई सम्मान गरिएको छ ।























