सरकारको चीर निद्राको पोल नख्खुको बाढीले खोलिदियो

काठमाडौं । शनिबार बिहान उज्यालो नभइसक्दै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्‍यो । खासगरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो नहुँदै डुबानमा पर्न थालेका थिए । ललितपुर महानगरपालिका–१४ नख्खिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपद्‍मा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने कुराको पोल खोलिदिएको छ ।

नख्खु खोलाको बाढी बिहानैदेखि नदी किनारमा रहेको टहरोमा पसेको थियो । टहरको डुबाएपछि बिहानैदेखि त्यसमा बस्ने चारजना च्यादरले लगाएको छानोमाथि चढेर उद्धारको याचना प्रतिक्षामा बसिरहे । उनीहरुको उद्धारका लागि छिमेकीहरुले पनि गुहार लगाइरहे । तर हेर्दाहेर्दै विशाल रुप लिएको नख्खुको बाढीले टहरो ढाल्न थाल्यो । छिमेकीहरु र फेसबुकमा लाइभ गर्ने मानिसहरु चिच्याइरहे । तर त्यहाँ सुन्न तत्कालै राज्यका कुनै पनि निकायका मानिसहरू पुगेनन् । यस्तो लाग्थ्यो बाढीले उपत्यका घेरिसक्दा सिंहदरबारदेखि राज्यका संयन्त्र मानिने स्थानीय सरकार पनि चीर निद्रामा थिए ।

टहराको छतमा उद्धारको याचनासहित घण्टा बिताउँदा पनि उनीहरुको उद्धार हुन सकेन् । अन्ततः टहरोको एकतर्फको भाग भत्किएर चारै जनालाई नख्खुको बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। आममानिसले हेरिरहे तर राजधानीमै सरकार भने त्यतिबेलासम्म गायब थियो ।

स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरे पनि राज्यले अपराह्नसम्म थाहा नै पाउन सकेन । शनिबार अपरान्ह गृहमन्त्री रमेश लेखकले यस विषयमा पत्रकारले सोधेको प्रश्नमा भन्दैथिए,‘ नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दा पनि बचाउन सकेनौँ । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटी नहुँदा सकिएन ।

संघीय राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला अनुमान गर्न मुस्किल छैन । भलै नख्खुमा चारजनालाई बगाइसकेपछि नेपाली सेनाको हेलिकप्टर त्यस आसपासमा उद्धारका लागि पुगेको थियो ।

नख्खु खोला किनारको टहरोमा चार वर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाइ राज, दुईजना छोरीहरु ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरु फलाम वेल्डिङको काम गर्ने मिस्त्री थिए । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको थियो । उनीहरू टहराको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए ।

स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भने । प्रहरी केहीबेरमा उद्धारका लागि पर्याप्त संशाधन बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको भरमा उद्धार प्रयास सम्भव भएन । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरीसमेत संकटमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।

चारैजना टहरो भत्किएर बाढीमा बगेपछि अरु स्थानीय रमिते भएका थिए । तर त्यहीँ हेरिरहेका काभ्रेको तेमाल–९ का ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा हेलिएर तीन जनालाई सकुशल उद्धार गरे । उनले एकजना बालिकालाई भने उद्धार गर्न नसकेको बताए । उनी बेपत्ता छिन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल लगिएको थियो। उनीहरू अहिले सामान्य अवस्थामा छन् ।